बिर्तामोड । भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका इलाम माइ नगरपालिका –१० का दुर्गा प्रसाद तिम्सिनाको उपचार प्रदेश १ सरकारले गर्ने भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तिम्सिनाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले मिलाउने जानकारी दिए ।
चार दशक भारतका विभिन्न जेलमा बसेका तिम्सिनाको स्वास्थ्य अवस्था नाजुक भएको छ ।
उनको आवश्यक उपचारका लागि प्रदेश सरकारले तयारी थालेको मन्त्री कार्कीले बताए । उनले इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्कालाई परिवारसँग समन्वय गरेर प्रारम्भिक उपचार थाल्न निर्देशन समेत दिएका छन् ।
मन्त्री कार्कीले तिम्सिनाको उपचारसँगै भारत सरकारसँगको क्षतिपूर्ति माग गर्ने सवालमा आवश्यक पहल गरिने बताए ।
इलामका प्रमुख जिल्ला अधिकारी खड्काले मन्त्री कार्कीबाट आएको निर्देशन बमोजिम काम शुरु भएको जानकारी दिए ।
Facebook Comments Box