प्रकाश उप्रेती
झापा, १६ चैत । झापाको दुहागढी–६ धाइजनमोडमा २०७३ बैसाख २ गतेबाट हुने ‘तेश्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता–२०७३’ तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रमका लागि ग्राउण्ड व्यवस्थापन, खेलाडी व्यवस्थापन, आगन्तुक खेलाडी तथा प्रशिक्षकको खाना र बस्नको प्रशासनिक तथा सुरक्षाको व्यवस्थापन पूरा भएको आयोजक संस्थाका अध्यक्ष तथा बिहानी बचत ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण रिजालले बताए ।
तेश्रो राष्ट्रिय पुरुष भलिवल लिग प्रतियोगिताका काठमाडौँ बाहिर सर्वाधिक राशीको पुरस्कार हो । प्रतियोगितामा प्रथम पुरस्कार राशीसहित मुख्य प्रायोजकमा दुहागढीको सोनिया घरघडेरी खरिद–बिक्री केन्द्र रहेको छ । केन्द्रका प्रोपाइटर नरेन्द्र मेचे (गछाम)ले प्रतियोगिता सफल बनाउन ६ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यसै सहआयोजकमा धाइजन गाविस, दुहागढी गाविस, होटल व्यवसायी संघ झापा, प्रायोजकमा सूर्य एग्रो एण्ड सूर्य पल्स धाइजन, सहप्रायोजकमा कालिका, बाँसबारी र हातेमालो सामुदायिक वन उपभोक्ता समिति रहेका छन् । त्यसैगरी छोरी रञ्जना कन्दङवा योङहाङको स्मृतिको सम्झनामा बुटाबारीका रामकुमार कन्दङवाले दोश्रो पुरस्कारको दिने घोषणा गरेका छन् । प्रतियोगितामा पहिलो पुरस्कार राशी नगद ३ लाख १५ हजार, त्यसैगरी दोश्रो पुरस्कार नगद १ लाख ७५ हजार तथा तश्रो पुरस्कार १ लाख १० हजार सिल्ड ट्रफि तथा प्रमाणपत्र रहेको छ भने उत्कृष्ट खेलाडीलाई २५ हजार नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने सम्मेलनमा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण रिजालले जानकारी दिए ।
नेपाल भलिवल संघका केन्द्रीय सदस्य लेखनाथ पराजुलीका अनुसार राष्ट्रिय भलिवल प्रतियोगितामा ८ वटा टिमले १५ वटा खेल खेल्नुपर्नेछ । जसमा १÷१ पोलमा ६÷६ वटा तथा ३ वटा लिगमा खेल खेल्नुपर्ने छ । उनले पूर्वमा लिग चरणको राष्ट्रिय खेल पहिलो भएकाले खेलाडीलाई उर्जा मिलेको बताए ।
प्रतियोगितामा पाँच विकास क्षेत्रमध्येबाट ३ वटा टीम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, तथा जाउलाखेल भलिवल क्लबको गरी ८ वटा भलिवल टीमले सहभागिता जनाउने नेपाल भलिवल संघका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले जानकारी दिए । खेल भव्य रुपमा सम्पन्न गर्न २१ लाख अनुमानित लागत लाग्ने कोषाध्यक्षमा विष्णु प्रसाईले जानकारी दिए । प्रतियोगिताका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा १२ वटा विभिन्न उपसमिति गठन गरिएको छ । पर्यटकीय गन्तव्यको क्षेत्र मानिने पूर्वको झापामा सबै ठाउँका खेलाडी र प्रशिक्षकलाई पर्यटकको रुपमा अवलोकन गराउने उद्देश्य समेत रहेको आयोजकको भनाई छ ।