झापा । झापाको दमकमा डेंगुको संक्रमण उच्च भएसँगै सरकारी तथा यससँग सम्बन्धित निकायहरु र विशेषज्ञहरुको टोली दमक आएको छ ।
स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी महाशाखा , डेंगु सम्बन्धि खोज अनुसन्धानमा संलग्न स्वास्थ्य संस्थाहरु र अन्तराष्ट्रिय दातृ निकायको समेत टोली दमक आएर सो बारे अनुसन्धानमा लागेका छन् ।
मन्त्रालयको टोलीले सोमबारदेखी दमकमा रहेका डेंगु संक्रमितहरुको घर वरपर, अस्पतालको प्रयोगशाला आदिमा पुगेर यसबारे अनुसन्धान शुरु गरेको दमक अस्पतालका सिनियर अहेव नगेन्द्र भट्टराईले जानकारी दिए ।
त्यसैगरी डेंगु सम्बन्धि रोगको बारेमा केही बर्षयता पूर्वाञ्चलका विभिन्न स्थानमा अध्ययन अनुसन्धान र खोजमा लागिरहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले दमकका डेंगु विरामी, तिनको परिवार र आसपासका क्षेत्रमा स्थलगत रुपमै लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमण र यसको विस्तृत पक्षबारे जानकारी लिईरहेको बताइएको छ ।
सोही टोलीमा संलग्न डाक्टर नारायणराज भट्टराईले डेंगुको संक्रमण लामखुट्टेको टोकाईका कारण नै हुने भएकाले यसको टोकाईबाट जोगिन नसक्दा दमकमा डेंगु फैलिएको बताए ।
दुई दिनयता सो सम्बन्धि अनुसन्धानमा सक्रिय रहनु भएका डाक्टर भट्टराईले डेंगुका चार प्रकार मध्ये दमकमा फैलिएको डेंगु कुन हो भन्ने बारे अध्ययन अनुसन्धान भईरहेकाले एक साता भित्र यसबारेमा विस्तृत जानकारी आउने जानकारी दिए ।