काठमाडौं – सरकारले नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) २०१६ मा भएको व्यवस्था कार्यान्वयन गर्न क्षेत्र भाँडफाँड गरेको छ । जसअनुसार नौ सरकारी र एक निजी क्षेत्रको भूमिका निर्धारण गरिएको छ ।
वाणिज्यमन्त्री रोमी गौचन थकालीको अध्यक्षतामा बसेको ईआईएफ नेसनल स्टेरिङ कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा मुख्यसचिव सोमलाल सुवेदीसहित विभिन्न मन्त्रालयका सचिव र अन्य सरोकारवालाको सहभागिता थियो ।
एनटीआईएस सूचीमा रहेका वस्तुको निर्यात लक्ष्य पूरा गर्न मन्त्रालयहरूबाट कानुन, न्याय तथा संसदीय मामला, परराष्ट्र, अर्थ, कृषि, उद्योग र वाणिज्य तथा राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघको भूमिका र उत्तरदायित्व तोकिएको छ ।
“यी निकायहरूलाई तोकिएबमोजिमको काम कार्यान्वयन भए/नभएको निरन्तर अनुगमन हुनेछ,” स्टेरिङ कमिटी बैठकको निर्णयमा उल्लेख छ, “वाणिज्य मन्त्रालयले प्रतिफलको सूचांक र लक्ष्य हेर्नेछ । ती विषय ईआईएफ स्टेरिङ कमिटीमा छलफल हुनेछ ।”
स्टेरिङ कमिटीमा व्यापारसँग सम्बन्धित सबै मन्त्रालयका सचिव रहेका छन्। वाणिज्यमन्त्री रोमी गौचन थकालीले एनटीआईएस २०१६ कार्यान्वयन गर्नका लागि विभिन्न सरोकारवाला मन्त्रालयको भूमिका महत्वपूर्ण रहने बताए ।
दिगो आर्थिक वृद्धिबिना अहिलेको सामाजिक आर्थिक र राजनीतिक परिवर्तन हुन नसक्ने उनले बताए । आजको कारोबार दैनिकमा खबर छ ।