काठमाडौं – औषधि बनाउने आवरणमा नेपाल भित्र्याएको सहायक रसायन स्युडोइफ्रिडिन तस्करीका मुख्य योजनाकार देखिएका रतनलाल संघाई धरौटीमा मुक्त भएका छन्। सोही प्रकरणमा जोडिएका अन्य ४ सहयोगीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल पठाएको छ ।
कोल्ड ट्याब्लेट बनाउन २०७० देखि २०७३ सम्म नेपाल आयात गरेको १ अर्ब ९१ करोड बराबरको २ हजार २ सय किलो स्युडोइफ्रिडिन लागूऔषध बनाउन तस्करी गरेको आरोपमा प्रहरीले संघाई समूहका प्रमुख पवनसहित नौ जनामाथि अनुसन्धान गरेको थियो। अनुसन्धानमा संघाई दाजुभाई पवन र रतन मुख्य योजनाकार देखिएका थिए ।
सोमबार थुनछेकको बहस सकिएपछि जिल्ला अदालत ललितपुरले रतनलाललाई १२ लाख धरौटीमा छाड्ने आदेश दियो भने उनीसँगै पक्राउ परेका स्युडोइफ्रिडिन व्यवस्थापन गर्ने दिलिप पंडित, मोहित हलान,बद्रीप्रसाद बन र श्याम मोक्तान तामाङलाई भने अर्को आदेश नगरेसम्म कारागारमै राख्न आदेश दिएको छ । पवन लगायतका ४ जना भने फरार छन् ।
‘रतनलालको नाममा धरौटी निस्किएको छ भने अन्य ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश आएको छ,’ ललितपुरका श्रेस्तेदार बाबुराम दाहालले भने, ‘रतनलाई बारा प्रहरीले उपस्थित गराउनु भनेकाले उता पठाउँदै छौं ।’
लागूऔषध नियन्त्रण ब्युरोले साउन १२ मा पण्डितलाई पक्राउ गरी अनुसन्धान गर्दा ललितपुरको प्लाष्टिक गोदाममा ४ सय ७२ किलो स्युडोइफ्रिडिन लुकाएको फेला पारेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।