विर्तामोड । दुवै मिर्गौला खराब भएका झापा कालिस्थानका एक युवाको उपचारका लागि आर्थिक सङ्कलन अभियानमा जुटेका संघसंस्थाले सङ्कलित रकम अभिभावकलाई हस्तान्तरण गरेको छ ।
१९ वर्षीय बुद्ध तामाङको उपचारका लागि विभिन्न संघसंस्थाले रकम सङ्कलन अभियान थालेका थिए । शचिश्चरेको एनएनवाईसी ग्रुपले १९ हजार ८६५ रुपैयाँ सङ्कलन गरी तामाङ परिवारलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै, नेपाल तामाङ विद्यार्थी घेदुङ झापा सहित नेप्लिज टिन्स, द युनाइटेड नेप्लिज युथ, युवा संघ विर्तामोड, दारी ग्याङ, प्रकृति फाउण्डेशन, वेलफेयर अफ नेसन्स, नेवि संघ २ नम्बर क्षेत्र र आरयुडिसी क्लबले सङ्कलन गरेको ५४ हजार १११ रुपैयाँ र कालिस्थान क्षेत्रबाट सङ्कलित रकम २२ हजार ७६५ रुपैयाँ पनि परिवारलाई हस्तान्तरण गरिएको अगुवा कर्मा गोम्देनले बताए ।
विर्तामोडको विर्ता सिटी हस्पिटलमा उपचाररत १९ वर्षीय तामाङको आर्थिक अवस्था कमजोर रहेकाले सामुहिक रुपमा आर्थिक सङ्कलन अभियान चलाउनु परेको विद्यार्थी घेदुङ झापाका सचिव रोशन लामाले जानकारी दिए । प्लस टु पढिरहेका बुद्धले अचानक आँखा नदेख्ने भएपछि उनको उपचार अघि बढाइएको थियो । उनका आमा इन्द्रमायाका अनुुसार प्राथमिक उपचारका क्रममा ब्लड प्रेसरका कारण दुवै मिर्गौला खराब भएको पत्ता लागेको थियो ।
खर्च अभावमा ७ महिनादेखि घरमै राखिएका बुद्धलाई आमाले हारगुहार गरेपछि अभियान सञ्चालन गर्नुपरेको अगुवा कर्मा गोम्देनले बताए । उनले चार पटक डायलोसिस गरिएको बुद्धको उपचारका लागि जुटेका सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिँदै बुद्ध तामाङ बचाऊ अभियानलाई जारी राख्न सम्पूर्णमा सहयोगका लागि अपिल गरेका छन् ।