बेलुका ५ बजेपछि बस पाइँदैन
विर्तामोड । सडकमा सिन्डिगेट चलाउनेहरुको चरम दादागिरीको एउटा उदाहरण हो विर्तामोड भद्रपुर सडक । जहाँ बेलुका पाँच बजेपछि विर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्म जानका लागि पनि सार्वजनिक बस यात्रुले पाउँदैनन् । न सिन्डिगेट चलाउनेले बस चलाउँछन् न अर्कालाई त्यो रुटमा बस हाल्न दिन्छन् ।
जब बेलुकाको पाँच बज्छ तब विर्तामोड भद्रपुर रोडको झापाको दक्षिणतर्फ जाने यात्रु सार्वजनिक बस आइहाल्छ कि भनेर कुरेर बसेका हुन्छन् । तर उनीहरुको कुराई बेकार हुन्छ । त्यहीँ सडक छेउमा पार्किंग गरेर बसेका ट्याक्सी वा मारुती भ्यानले ति यात्रुलाई चन्द्रगढी वा भद्रपुरसम्मको भाडाका लागि मोल मोलाई सुरु गर्न थाल्छन् ।
बर्षौंअघिदेखि यही श्रृंखला चलिरहेको छ झापा सदरमुकाम जाने सार्वजनिक बस नपाउने । दिउँसोको समयमा मनग्गे सार्वजनिक बस चले पनि बेलुका भएपछि यात्रु विजोग हुने गरेको छ । झापा सुगम जिल्ला भनेर चिनिए पनि त्यही सुगम जिल्लाको सदरमुकाम जाने बेलुकाको समयमा सार्वजनिक बस नपाउने गरेका कारण सर्वसाधारण आजित बनेका छन् ।
मेची बस व्यवसायीका सचिव राजेन्द्र रिजालका अनुसार मेची यातायात संघ र पूर्वाञ्चल यातायात संघमा आबद्ध यात्रु बस विर्तामोड भद्रपुर सडकमा चल्ने गर्छन् । तर ति संघहरुका पदाधिकारीहरुलाई विर्तामोड भद्रपुर रुटमा बेलुका बस चलाउन अनुरोध गरे पनि उनीहरुले त्यस्मा आनाकानी गरेको उनले बताए ।
पूर्वाञ्चल यातायात संघका अध्यक्ष पारस उप्रतीले बेलुकाको समयमा विर्तामोड भद्रपुर रुटमा मान्छे नहुने भएकाले बस चलाउन नसकिएको दाबी गरे । उनले मादक पदार्थ सेवन गरेका मान्छे पनि सवारीमा चढने भएकाले उक्त रुट बेलुकाका लागि असुरक्षित रहेको दाबी गरे ।
विर्तामोडबाट दैनिक साँझमा भद्रपुर जाने एकजना व्यवसायी प्रवेश सरियाले दिनहुँ कोही न कोही व्यक्ति आफ्नो गाडीमा बोकेर लाने गरेको बताए । उनका अनुसार बेलुका पाँच बजेपछि भद्रपुर बस स्ट्याण्डमा मानिसहरु बस कुरेर बसेका हुन्छन् तर कुनै बस आउँदैन ।
यात्रुहरुका अनुसार साना सवारीमा भद्रपुर जाँदा एकजनाको एकसय पचास रुपैयाँसम्म तिर्नुपर्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार पूर्वाञ्चल यातायात संघको एकाधिकारका कारण अन्य सवारी साधन विर्तामोड भद्रपुर रुटमा चलाउन नसकिएको हो ।