काठमाडौं – जिल्ला न्यायाधिवक्ताको कार्यालय ललितपुरले औषधि बनाउने भनेर भित्र्याइएको १ अर्ब ९१ करोड रुपैयाँको सहायक रसायन स्युडोइफिड्रिन लागूऔषधका लागि तस्करी गरेको आरोप लागेको आर्य फर्मा समूहविरुद्ध संगठित अपराधको अभियोग लगाउन अस्वीकार गरेको छ ।
तीन महिना लामो अनुसन्धानपछि प्रहरीले कोल्ड ट्याब्लेट बनाउन नेपाल भित्र्याइएको २ हजार २ सय किलो सहायक रसायन लागूऔषधका लागि भारत र चीन तस्करी गरेको भन्दै आर्यका पवन संघाई, रतन संघाईलगायतमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ सँगै संगठित अपराध निवारण ऐन २०७० को अभियोग लगाउन राय दिएको थियो । संगठित अपराधमा समेत मुद्दा अगाडि बढेको भए लागूऔषध ऐनअनुसार हुने सजायमा ५० प्रतिशत थप हुन्थ्यो ।
अनुसन्धानमा स्युडोइफिड्रिन मगाउने पहिलो तह, औषधि नबनाई भारत र चीन पठाउने दोस्रो तह र भरिया तेस्रो तह नै खुलेको भन्दै लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषधसँगै संगठित अपराधको समेत अभियोग लगाउन सुझाएको थियो ।
जिल्ला न्यायाधिवक्ताको कार्यालयले भने अनुसन्धान गर्ने प्रहरीको रायविपरीत लागूऔषध ऐनअन्तर्गतको मात्रै अभियोग लगाएर जिल्ला अदालत ललितपुरमा शुक्रबार अभियोग पत्र दायर गरेको छ ।
औषधि बनाउँछु भनेर अनुमति लिएर झिकाइएको सहायक रसायन औषधि बनाउन प्रयोग नगरी डाइभर्सन गरी लागूऔषध बनाउन दुरुपयोग गरेको भेटिएपछि प्रहरीले आर्य फर्माका सञ्चालन पवन र रतन संघाई, मोहित हलान, शंकरलाल हलान, रोहित हलान, कमलकुमार अग्रवाल, दिलीप पण्डित, श्याम मोक्तान र बद्रीप्रसाद वनलाई प्रतिवादी बनाएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।