काठमाडौं । राजनीतिक दलको आवरणमा विद्यालयमा बम राखेर आतंक मच्याउँदै चन्दा असुल्न सक्रिय माओवादी कम्युनिष्ट केन्द्रका २ जना पक्राउ परेका छन् । १ महिना अघि काठमाडौं उपत्यकाका ११ विद्यालयमा बम राखेर आतंक मच्चाइएको घटनाका योजनाकार मीन देवकोटा भनिने विनोद थापा र केशव दाहाल पक्राउ परेका हुन् ।
सशस्त्र द्धन्द्धताका एकिकृत माओवादीमा संलग्न रहेर हतियार चलाउन दक्ष भएका यी दुबैजना महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त अप्रेशनमा काभ्रेमा पक्राउ परेका हुन् । थापा पार्टीको विद्यार्थी संगठनका प्रमुख हुन् भने दाहाल पार्टीको महासचिव ।
गत असोज ४ मा काठमाडौंको ९ र ललितपुरको १ विद्यालयमा बम फेला परेको थियो जसमा काठमाडौंको २ वटा विद्यालयमा राखिएको बम विष्फोट भएको थियो । घटनालगत्तै थापाले सञ्चारमाध्यमा फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए ।
पक्राउ आरोपीलाई सार्वजनिक गर्न शुक्रबार महानगरीय प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एआइजी प्रतापसिंह थापाले अनुसन्धानमा विद्यालयमा आतंक मच्याएर चन्दा असुल्ने योजना अनुसार घटना गराएको खुलेको बताए ।
घटना लगत्तै प्रहरीले बम राख्न संलग्न रहेको भन्दै २ जना पक्राउ परे पनि अन्य फरार भए । अनुसन्धानकोक्रममा अन्य २ जना सहयोगी समेत पक्राउ परे तर मुख्य योजनाकार प्रहरीबाट उम्कदै आएका थिए ।
प्रहरी अनुसन्धानमा बम राख्न मात्रै १५ जना संलग्न देखिए पनि अहिलेसम्म ६ जना मात्रै पक्राउ परेका छन् । पार्टीका अध्यक्ष माओवादीका पूर्व कमान्डर देवेन्द्रसिंह महत लगायतकाहरु अझै पक्राउ परेका छैनन् ।आजको कान्तिपुरमा खबर छापिएको छ ।