दमक । झापाको दमक नगरपालिका क्षेत्रमा दुई साता यता २४ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गत रहेको दमक अस्पताल र दमक नगरपालिकाले दमकमा पछिल्लो समयमा डेंगु रोगको प्रकोप बढेको र यसले भयावहक रुप लिनसक्ने भन्दै सतर्क रहन सर्वसाधारणसंग आग्रह गरेका छन् ।
दुईसाता यता मात्र दमकमा २४ जनामा बिरामीमा डेंगु रोगको संक्रमण भेटिएको दमक अस्पतालका सिनियर अहेव नगेन्द्र भट्टराईले जानकारी दिए । दमक आसपासमा रहेका अस्पतालहरु दमक अस्पताल, लाईफलाईन अस्पताल, आम्दा अस्पताल, एडभान्स हेल्थ केयर सेन्टर लगायत अस्पतालमा उपचार गराउन आएका विरामिमा डेंगु भेटिको हो । अझै केहीको संकास्पद अवस्थापा उपचार भईरहेको छ ।
शुक्रबार मात्र ५ जना बिरामीमा डेंगु फेला परेको भट्टराईले बताए । डेंगु एक प्रकारको ज्वरो भएका कारण आफुलाई डेंगु लागो भन्दैमा नआत्तिन उनले आग्रह गरे । डेंगु लागेका विरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, जोर्नीका हाडहरु दुख्ने, शरीरमा प्लेटलेट्स कम भएपछि निलो, रातो डामहरु देखा पर्ने, खान मन नलाग्ने, शरिरमा तागत कम हुने लगायत लक्षण देखापर्ने गरेको उनले बताए । कसैलाई उच्च ज्वरो आएमा डाक्टरको सल्लाह विना औषधि प्रयोग नगर्न समेत डाक्टरहरुले आग्रह गरेका छन् । डेंगु लागेमा अन्य औषधि प्रयोग गर्नु खतरा भएको बताईएको छ । यो रोग एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्दा हुने गरेको छ ।
दमक नगरपालिकाले नगर क्षेत्रमा रहेका टायर सेन्टरहरुलाई तत्काल टायर हटाउन आग्रह गरेको छ । लामो समयदेखि जमेका पनिमा लाम्खुट्टेको लार्भा हुने भएकाले घर छेउमा लामो समयदेखि रहेका शुद्ध पानी हटाउन नगरवासीलाई स्थानीय सञ्चार माध्यमबाट आह्वान गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले जानकारी दिए ।