विर्तामोड । पूर्वाञ्चलमा हुने गरेका सवारी दुर्घटनाका कारणमध्ये ६० प्रतिशत छाडा चौपायाले हुने गरेको नेपाली प्रहरीको तथ्यांकले देखाएको छ ।
राजमार्गमा हेरालु विना छोडिएका छाडा चौपाया सडकमा ‘एनिमल एम्बुस’ सरह भएका सवारी चालकहरु बताउँछन् ।
ट्राफिक प्रहरीले दिनहुँ जस्तो छाडा चौपाया सडक नछोड्न सर्वसाधारणलाई आग्रह गरे पनि सडकमा हेरालु विनाका चौपायाले कब्जा जमाउने क्रम यथावत छ ।
खासगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको लखनपुरदेखि माइधारसम्मको दुरीमा छाडा चौपायाबाट धेरै बच्नुपर्ने सवारी चालकहरुको भनाइ छ ।
विहान करीब ८ बजेको समयदेखि राजमार्ग दक्षिणका बासिन्दाले राजमार्ग उत्तरतर्फको खुल्ला चौर वा जंगलमा गाई बस्तु छोड्ने गरेका छन् ।
तर ति बस्तुका हेरालु कहीँ कतै देखिँदैनन् । प्रहरीले पनि त्यस्ता चौपाया समाउन सकेको छैन । प्रहरी भन्छ, ‘ति चौपाया समातेर कहाँ राख्ने?’
पूर्वका १६ वटा जिल्लामा दैनिक ४ देखि ६ वटा दुर्घटना हुने गरेका छन् । तिमध्ये झापा, मोरङ र सुनसरी धेरै सवारी दुर्घटना हुने जिल्लामा चिनिएका छन् ।
विगत पाँच बर्षको तथ्यांक हेर्दा पूर्वाञ्चलमा ८ हजार १ सय ३० सवारी दुर्घटनामा १ हजार ६ सय ६२ जनाले ज्यान गुमाएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।