विर्तामोड । बंगलादेशसंगको व्यापार बढाउन नेपाल सरकारले बंगलादेश सरकारसंग पहल नगरेको नेपाली व्यवसायीहरुले गुनासो गरेका छन् । संगैमा भुटानलाई बंगलादेशले भन्सार ड्युटीमा छुट वा मिनाहा गर्ने गरेको तर नेपालका बस्तु बंगलादेश निर्यात गर्दा महंगो भन्सार ड्युटी लाग्ने गरेको उनीहरुले बताएका छन् ।
जस्का कारण भारतसँग चर्को व्यापार घाटा बेहोरिरहेको नेपालले बंगलादेशसँग पनि केही वर्षयता व्यापारमा घाटा व्यहोर्न थालेको छ ।
दुई पक्षीय वार्ताहरुमा नेपालले भारत र बांग्लादेश दुवैसँग बाटोको विषयमा जोड दिने गरेको छ । तर त्यो बाटो भएर गर्ने व्यापारको हकमा नेपालले अझै आवश्यक कुरा बंगलादेशसँग राख्न नसकेको जानकारहरु बताउँछन् ।
खासगरी भुटानका वस्तुलाई बंगलादेशले भन्सार छुट वा मिनाहा दिएजस्तै नेपालका सामानलाई पनि दिएको खण्डमा घाटा पूर्ति हुन सक्ने नेपाली व्यवसायीहरु बताउँछन् ।
नेपालले २०५४ सालबाट मुलुक बंगलादेश व्यापार बढाउने उद्देश्यले पारवहन मार्ग पायो । तर पारवहन मार्ग केही सहज भएपनि नेपालबाट निर्यात हुने वस्तुका बारेमा नेपाल सरकारले बंगलादेश सरकारसँग प्राथमिकताका साथ कुरा गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले बताए ।
उनले भने, ‘विशेष गरेर हाम्रा कृषिजन्य उत्पादनहरु बंगलादेश निर्यात गर्ने व्यवसायीहरुको सोच अनुसार बंगलादेश सरकारसँग हाम्रो सरकारले कुरा गर्न नसकेकै हो ।’
पूर्वी नेपालको काँकरभिट्टा नाका हुँदै बंगलादेशको बंगलाबन्द नाका पुग्न छोटो बाटो भएका कारण बंगलादेशसँगको व्यापार बढाउन पहल गरे नेपालका कृषिजन्य वस्तु बंगलादेश निर्यात गर्न प्रशस्त सम्भावना रहेको पाण्डेको बुझाई छ ।
उनका अनुसार जसरी भुटानलाई बंगलादेश वस्तु निर्यात गर्दा बंगलादेशले भन्सार ड्युटीमा छुट वा मिनाहा गरिदिएको छ त्यस्तै नेपाललाई पनि बंगलादेशले छुट वा मिनाहा गरिदिए नेपालका वस्तु बंगलादेश निर्यात गर्नका लागि सहज हुनेछ ।
पाण्डेले भने, ‘बढी भन्सार ड्युटीकै कारण हाम्रा अदुवा, अम्रिसो, जडीबटी लगायत वस्तु हामीले निर्यात गर्न सकिरहेका छैनौँ ।’
पारवहन मार्ग पाएको केही वर्षसम्म नेपाल र बंगलादेशबीचको व्यापार नाफामा रहे पनि केही वर्षदेखि दुई देशबीचको व्यापारमा नेपालले घाटा बेहोरिरहेको छ ।