झापा- झापाको सदरमुकाम भद्रपुरमा झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ।
झापाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको तयारी गरिएको हो।
संघले सोमबार भद्रपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर महोत्सवबारे जानकारी दिएको हो।
सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान गराउने, झापाको उद्योग–व्यवसायलाई थप गति प्रदान गर्ने एवम् झापाका पर्यटकीय क्षेत्रहरूको थप प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ ०७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला परिसरमा आयोजना गर्ने गरी महोत्सवको तयारी गरिएको संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले जानकारी दिए।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले उद्योग–व्यवसाय क्षेत्र र स्थानीय तहबीच नङ र मासुको जस्तो सम्बन्ध रहने भएकोले एक–अर्काबीच सहकार्य हुनुपर्ने बताउँदै महोत्सवका लागि भद्रपुर नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
केही वर्षदेखि समग्र अर्थतन्त्र नै संकचित हुँदै गएको अवस्थामा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि आर्थिक अवस्था अझ खस्किएको, उद्योगी–व्यवसायीको मनोबल अझै घटेको उल्लेख गर्दै मनोबल घटेका उद्योगी–व्यवसायीमा नयाँ ऊर्जा भर्न पनि महोत्सवले प्रेरित गर्ने वक्ताहरूले बताए।
पत्रकार सम्मेलनमा चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली, उद्योगी दिपेश ढकाल, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष मनोज सुब्बालगायतले महोत्सवका बारेमा प्रकाश पारेका थिए।
