काठमाडाैँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनका लागि अहिले वातावरण उपयुक्त नभएको थप स्पष्ट पारेका छन् । अध्यक्ष राष्ट्रको सरकार प्रमुखका रूपमा नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको जिज्ञासामा भारतीय प्रधानमन्त्रीले यस विषयमा पर्खेर मात्र भन्न सकिने जवाफ दिएका छन् ।
आइतबार अबेर राति गोवाको होटेल लीलामा भएको दुईपक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्डले सार्क सम्मेलनबारे चासो राख्दा मोदीले उपयुक्त वातावरण निर्माण हुन बाँकी रहेको जवाफ दिएका थिए । ‘वातावरण बनेपछि सार्कको शिखर सम्मेलनका लागि उपयुक्त मिति तय गरिनुपर्छ भन्नेमा हामी सहमत भयौँ,’ भेटवार्तामा नेपालका तर्फबाट सहभागी परराष्टमन्त्री डा. प्रकाशशरण महतले भने । भारतका तर्फबाट विदेशसचिव एस जयशंकरसहित उच्च अधिकारी सहभागी थिए ।
यसैबीच, भारतले संविधान कार्यान्वयनका लागि नेपाल सरकारले गरेको प्रयासलाई समर्थन गर्दै यो विषय छिटो टुंगिने पनि आशा व्यक्त गरेको छ । तर, यसबारे मोदीले विस्तृतमा केही बोलेका थिएनन् । प्रचण्डले हिमाल, पहाड र तराई मधेसबीच सहमतिको वातावरण निर्माण गरेर संविधान कार्यान्वयनका लागि आफू सक्रिय रहेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमणका वेला ३१ भदौमा नयाँदिल्लीमा भएका विकास निर्माण परियोजनाको कार्यान्वयनमा भारतले पुनः प्रतिबद्धता जनाएको छ । ‘जम्मा २० मिनेट कुराकानी भयो, गत भदौ ३१ गते भएको औपचारिक वार्तामा विकास निर्माणलगायत सबै विषय प्रस्तुत भएका थिए, त्यसकै कार्यान्वयन गर्ने विषयमा भारतबाट प्रतिबद्धता आएको छ, निर्माण हुन नसकेका, टुंगिन बाँकी रहेका र नयाँ परियोजनाहरूको विषयमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विस्तृत छलफल गर्ने सहमति भएको छ,’ भेटवार्तापछि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गोवाबाट नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘प्रधानमन्त्रीको भ्रमणकै वेला सबै विषयवस्तु उठाइएको थियो, त्यसकारण अहिले नयाँ खासै विषय थिएनन् । अघिल्लोपटककै विषयहरूमा समष्टिमा छलफल भयो ।’ दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक कात्तिक ११ गते नयाँदिल्लीमा बस्ने यसअघि नै तय भएको छ । अाजकाे नयाँपत्रिका राष्ट्रिय दैनिकमा खबर छ ।