काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै नेपालीलाई दसैंको शुभकामना व्यक्त गर्दै विजयादशमी, तिहार, नेपाल सम्वत, छठ, ल्होसारजस्ता पर्वका आफ्नै पृष्ठभूमि, मौलिकता र मान्यता रहेको बताउनुभएको छ ।
उहाँले विविधतायुक्त विशेषता बिचको एकता हाम्रो मौलिक आयाम भएकाले सबै जाति, भाषा, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु हाम्रो दायित्व भएको बताउनुभयो । दसैँलगायतका हाम्रा साँस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको उहाँको भनाई छ ।
यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आज आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरूको महान पर्व बडादसैँका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले सन्देशमा भन्नुभएको छ ‘विविधतायुक्त विशेषताहरू बिचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।’ प्रधानमन्त्रीले भूकम्पको पुनर्निर्माण र राष्ट्रिय नवनिर्माण पनि हाम्रा सामु चुनौतीपूर्ण अवसरका रूपमा उभिएको छ भन्दै हाम्रो एकता, सहकार्य र विविधताको आत्मसातीकरणले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्दछ बताउनुभयो ।
चुनौतीलाई अवसरमा बदल्न दसैँलगायतका साँस्कृतिक पर्वहरूको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य हामीले बिर्सन मिल्दैन प्रधानमन्त्री दाहालले भन्नुभयो ।