बेल्डाँगीः जब चाडबाड आउँछ तब भुटानी शरणार्थीका आँखा रसाउन थाल्छन् । तेस्रो देश पुनःस्थापनाको कार्यक्रम आएसंगै परिवार बिखण्डनले छिन्न भिन्न भएका भुटानी शरणार्थीका लागि चाडबाड झनै पीडादायक हुने गरेको छ । अधिकांश आफन्त तेस्रो देश पुनःस्थापनाको कार्यक्रम मार्फत अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न युरोपेली मुलुकहरुमा पुगेका छन् । कोहीका छोरा छोरी शिविरहरुमा रहेका छन् त कोहीका छोरा छोरी विदेशमा ।

पूर्वका बेल्डाँगी र मोरङको शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थीहरुले यसपालीको दशैं सबैभन्दा खराब भएको बताएका छन् । चाडबाडका बेला परिवारका सदस्य एकै ठाउँमा भेला भइ मनाउने विगतका दिन सम्झिँदा उनीहरुलाई विरक्त लाग्ने गरेको भुटानी शरणार्थीहरुको भनाई छ ।
उनीहरुसंग विदेशमा रहेका आफन्तको सम्झना गर्ने बाहेक अन्य केही विकल्प छैन । बेल्डाँगी शिविरका डम्बर बहादुर अधिकारीकाे सबैजना तेस्रो देश पुनःस्थापना कार्यक्रम मार्फत अमेरिका पुगे । श्रीमती पनि अमेरिका गएकाे ८ महिना भयाे । तर चाडबाडका बेला घरपरिवार र श्रीमतिकाे सम्झना गर्न र फोनमा कुरा गर्न बाहेक उनका अगाडि अन्य केही विकल्प छैन । डम्बर भन्छन् , ‘ म भुटान फर्कज चाहान्छु । ’
अर्का तुकमान तामाङकाे पनि सबैजना अमेरिका पुगे । अहिले उ र उनकाे श्रीमति मात्र शिविरमा छन् । उनीहरूले पनि दशैं मनाउन मन नभएकाे बताए । उनीहरूका लागि दशैं विछाेडकाे घाउ ताजा बनाउन अाएकाे झैं हुने उनले बताए ।
सन् २००७ को अक्टोबर महिनाबाट सुरु भएको तेस्रो देश पुनःस्थापना कार्यक्रमपछि शिविरहरुमा दशैंको रौनक खस्किँदै गएको बेल्डाँगी शिविरका सचिव सन्चहाङ सुब्बा बताउँछन् । ‘केही बर्षसम्म त दशैं जसो तसो मनाइयो । तर यसपाली चाहीँ सबैभन्दा खल्लो अनुभूति भएको छ । शिविर नै सुनसान छ के रमाइलो हुनु र,’ सुब्बाले भने । खासगरी तेस्रो देश पुनःस्थापनामा जान नचाहने भुटानी शरणार्थी अहिले शिविरमा रहेका छन् । बेल्डाँगी शिविरकै सन्तवीर घले भन्छन्, ‘जब भुटान नै पुगिन्छ अनि मात्र चाडबाड मनाउने कुरा आउँछ । यहाँ यस्तो जीवनमा के गर्नु ?’