काठमाडौँ, २२ असोज । दसैंमा पशुबली रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले बुधबार भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघयाङ लगेको बताएका छन् ।
बुधबार पाँच सय ७२ वटा च्याङग्रालाई १ करोड २
लाख ९६ हजारमा किनेर संरक्षणका लागि लगिएको समूहकी छुल्टिम साङमो बज्राचार्यले बताइन् । १४ वटा कन्टेनरमा राखेर लगिएका च्याङग्रा तार्किघयाङको जीवन दानका लागि बनाएको ठाउँमा राखिएको उनको भनाई छ । ‘गुरुको नाममा यस्तो काम गरेका हौँ । बिगतमा थोरै कलेक्सन गथ्र्यौ,’ उनले भनिन्, ‘यसपाली फ्रि लाइफ एशोसियन भन्ने संस्था पनि सहभागि छ ।’
बुधबार झण्डै ६ सय च्याङग्रा लैजाने टोली शुक्रबार बिहान पुन: तीन सय च्याङग्रा किन्न सल्लाघारी पुगेका कान्तिपुरमा खबर छ । यसअघि १८ हजार प्रतिगोटा च्याङग्रा लगेकोमा व्यापारीहरुले शुक्रबार २० हजार मागेपछि उनीहरु बार्गेनिङ गरिरहेका थिए । ‘तीन सय वटा च्याङग्रा लैजान सवारी साधनको व्यवस्था गरेर आएका थियौ । अस्ति १८ हजार लग्यौ । अहिले त २० हजार भनिरहेको छ,’ शुक्रबार सल्लाघारीमा भेटिएका उर्गेन जिग्मेले भने । सल्लाघारीमा दसैंका लागि च्यांग्रा किन्न आउने सर्वसाधारणले उनीहरुलाई कालो बजारी गरेको आरोप लगाएका थिए । विवाद बढेपछि टोली च्यांग्रा किन्न भन्दै कलंकी हानिएको थियो ।
सल्लाघारी चौरमा १४ हजार ५ सयमा किनेको च्याङग्रा त्यही काट्न थालेपछि ‘हिंसा गर्न हुँदैन’ भन्दै डोलकर लामासहितको समूहले ३० हजार दिएर काट्न रोकेका थिए । आफूले खरिद गरेको च्याङग्राको दोब्बरभन्दा बढी पैसा पाएपछि सर्वसाधरण पनि खुसी हुदै फर्किए । ‘काटमार गर्न हुँदैन भनेर गएको ठाउँमा आफनै अगाडि काट्न लागेपछि महंगो रकम दिएको हो,’ डोलकरले भनिन् । लुगा र जुत्ता किन्ने पैसा जोगाएर हिंसा रोक्न ५० हजार रुपैयाँको च्याङग्रा किन्न आएको उनले बताइन् ।