भद्रपुर । मेची राजमार्ग अन्तर्गत पर्ने झापाको चारआली केचना सडक अबकाे तीस महिनाभित्र बनिसक्ने भएकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सोमबार उक्त हुलाकी सडककाे पु:न शिलान्यास गर्दै ३० महिनाभित्र काम सक्ने दाबी गरेका छन् । जीर्ण भएर बर्षाैंदेखि सञ्चालनमा रहेको उक्त सडकको यस अघि पनि पटक पटक शिलान्यास गरिएकाे थियाे । तर शिलान्यास पश्चात कुनै काम हुन नसके पछि उक्त सडक अलपत्र छोडिएको थियो ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले आयोजना गरेको शिलान्यास कार्यक्रममा मन्त्री लेखकले चारआली केचना तथा भद्रपुर राजगढ सडक खण्डको यसअघिका शिलान्यास केवल राजनीतिक नाराको रूपमा रहेको बताए । उनले भने, ‘यस अघिका शिलान्यास बजेट बिना नै जनताको मागलाई सम्बोधन गर्नको लागि मात्र गरिन्थ्यो, तर यसपटक यस सडक निर्माणको लागि बजेट छुट्टाइसकेका छौं ।’
नेपाल सरकारको पूर्ण लगानीमा सो सडक निर्माणले तीब्रता पाउने समेत मन्त्री लेखकले दाबी गरेका छन् । उनले बिना योजना गरिने शिलान्यासका कारण विगतमा राजनीति गर्ने केन्द्रका रुपमा रहन बाध्य हुलाकी सडक यो पटक बजेट निकासा गरी निर्माण प्रक्रियाबाट शिलान्यास भएकाले निर्माण पूरा हुने पक्का रहेको बताए ।
नेपाल र भारतबीच २०१० सालमै पूर्वपश्चिम राजमार्गबाट हुलाकी राजमार्ग पुग्ने सडकहरु पनि निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै बिचमै काम रोकेको थियो ।
नेपाल सरकारले यो समेत गरेर हुलाकी सडक अन्तर्गतका १७ वटा सहायक मार्गमध्ये ७ वटा मार्ग स्तरोन्नतिका लागि पाँच पाँच अर्व रुपैयाँ व्यवस्थापन गरिएको मन्त्री लेखकले बताए । उनले ७ वटा सडकको काम नेपाल आफैले र बाँकी १० वटा भारत सरकारको ऋणमा नेपाल सरकार आफैंले निर्माण गर्ने नेपाल र भारतबीच नयाँ सहमति भएको बताए ।
उनले सडकको गुणस्तरमा समेत कुनै सम्झौता नहुने भन्दै सम्झौता अनुसारको समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कारवाही गर्ने चेतावनी समेत दिए ।
चारआली केचना सडक खण्ड ४१ करोड ६१ लाख ८४ हजार १४२ रुपैयाँमा निर्माण हुने भएको छ । पहिलो खण्ड अन्र्तगत चारआली देखि पृथ्विनगरको सोमबारेसम्मको २० किलोमिटर सडकको चौढाई ९ मिटर रहनेछ । यसैगरी पूर्व पश्चिम अन्र्तगत भद्रपुर राजगढ सडक खण्ड पनि २९ करोड ८३ लाख ४९ हजार १६१ रुपैयाँमा निर्माण थालनी भएको छ ।
चारआली सोमबारे सडक निर्माणको जिम्मा कालिका कनकाई याकथुम्हाङ्ग जेभि, काठमाण्डौंले लिएको छ भने भद्रपुर राजगढ सडक निर्माणको जिम्मा आशिष याकथुम्हाङ्ग जेभि, गल्फुटार काठमाण्डौंले लिएको छ । उक्त सडकको अधिकांश भाग कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रमा पर्छ । उनले उक्त सडकको निर्माणमा ध्यान नदिएको भन्दै सर्वसाधारणले दुखेसो पोख्दै आएका थिए । सोमबारको शिलान्यास कार्यक्रममा सिटौला लगायत सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी पनि उपस्थित थिए ।
1 Comment
हैन ३० महिनाकी ३० बर्ष खै के आशा गरौ नौ नौ महिनामा सरकार फेरिन्छ उहीँ बोलिमा सिमित त हैन