काठमाडौं । पर्याप्त विद्युत् उत्पादन नहुँदा देशमा बाह्रैमास लोडसेडिङ छ, तर उत्पादित विद्युत् पनि काठमाडौं र अन्य सहरमा पुर्याउन प्रसारण र वितरण लाइन अभाव छ ।

नेपालभित्रै उत्पादन भएको र भारतबाट आयात गरिएको बिजुली प्रसारण गरी उपभोक्ताको घरसम्म पुर्याउने लाइन सुदृढीकरण नगरे विद्युत् आपूर्तिमा थप समस्या हुने भएको छ ।
ढल्केबर–मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइनबाट अहिले ८० मेगावाट बिजुली प्रसार भइरहेको छ । तर, थप एक सय ५० मेगावाट बिजुली ल्याउने सहमति भए पनि सिंक्रोनाइजेसनका लागि भइरहेको काम ज्यादै सुस्त छ ।
गत वर्ष ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट आयात भइरहेको ८० मेगावाट विद्युत् नेपालले पाउने–नपाउने अन्योल नै छ ।
८० मेगावाटसम्म विद्युत् आयात–निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको एनटिपिसी विद्युत् व्यापार निगमबीच भएको सम्झौता अगामी पुसको दोस्रो साता (डिसेम्बर) सकिँदै छ । एनटिपिसीले प्राधिकरणलाई मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट तीन रुपैयाँ ४४ पैसा भारतीय रुपैयाँ (पाँच रुपैयाँ ५० पैसा)मा उपलब्ध गराएको थियो ।
पछि यसलाई बढाएर तीन रुपैयाँ ६० पैसा भारु (पाँच रुपैयाँ ७६ पैसा) पु-याएको थियो । डिसेम्बरपछि ८० मेगावाट आयात गर्ने या नगर्नेबारे छलफल नै नभएको प्राधिकरण व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए । ल्याउने निश्चित भएपछि मात्रै विद्युत् खरिद दर र अन्य सर्तबारे भारतीय पक्षसँग छलफल हुनेछ