पूर्वको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको विर्तामोड शहर झापाको मुटु भनेर पनि चिन्ने गरिन्छ । २०३६ सालसम्म झाडी र पातलो बस्ती रहेको विर्तामोडमा २०६२–६३ पछि जनसङ्ख्या तीव्र रुपले बढेको देखिन्छ । २०६८ सालको जनगणना अनुसार विर्तामोड नगरपालिकाको जनसंख्या ६०१७४ रहेको छ । यो नगरपालिका २०७१ जेठ ४ गते अनारमनी र चारपाने गाविस मिलेर बनेको हो । जनसङख्या वृद्धि र शहरीकरणसँगै यहाँको जीवनपद्धतिमा परिवर्तन र आवश्यकताहरुमा विलासितापन आएको छ । अव्यवस्थित शहरीकरण बढेसँगै दिनप्रतिदिन फोहोरको समस्या बढ्दै गएको छ ।
नगरपालिकाले एकीकृत फोहोरमैला व्यवस्थापन रणनीतिक कार्ययोजना अघि बढाउन नसक्दा हाल आएर विर्तामोड कुरुप बन्दै गएको छ । नगरपालिकाले व्यवस्थित ल्याण्डफिल साइट व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा यहाँका उद्योगी, व्यापारी तथा व्यवसायी भने फोहोरमैलाको समस्याप्रति चिन्तित देखिंदैनन् बरु उल्टै आफुले उत्सर्जन गरेको फोहोर जताततै बाटोमा फाल्ने गरेकाछन् ।
विर्तामोडको मुक्तिचोक आसपास, पूर्व पुरानो इलाम स्ट्याण्ड, पश्चि स्टेण्ड र उत्तर त्रिवेणी चोक र दक्षिणमा भद्रपुर बस स्टेण्डको क्षेत्रभरी फोहोरको डंगुरहरु देख्न सकिन्छ । यहाँ दैनिक ४ मेट्रिक टन फोहोर निस्कने अनुमान गरिएको छ । नगरपालिकाले प्रायजसो फोहोर उठाउँछ तर त्यतिकै परिमाणमा फोहोर केहिछिन पछि देखिनुमा व्यापारी, व्यवसायी पनि गैह्रजिम्मेवार छन् भन्ने प्रष्ट देखिन्छ । केही साता अघिदेखि विर्तामोडमा युवाको अगुवाईमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिइएको छ । विर्तामोडमा क्रियाशिल विभिन्न सामाजिक संघ संस्था लगायत फेसबुक ग्रुपसहित दुई दर्जन भन्दाबढी संगठनको दुइसयभन्दा बढी व्यक्तिहरुको उपस्थितिमा हरेक हप्ताको शनिवार विहान सरसफाई गरिदैं आएको छ ।
विर्तामोडले केही मुहार त फेरेको छ तर एकपटक फोहोर उठाएको ठाउँमा पुःन फोहोरको डङगुर थुपारिदिने प्रवृत्ति बढेर गएको छ । सरसफाईमा न त उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी हुन्छन् नत व्यापारी, व्यवसायी नै । त्यसैले उनीहरु सरसफाईको विषयमा चिन्तित छन् भन्ने देखिँदैन । प्रायजसो फोहोरलाई वर्गीकरण नगरीकन फाल्ने तथा फोहोरको डङ्गुरमा आगो लगाइदिने गर्नाले झन् वायु प्रदूषणको समस्या देखापरेको छ । फोहोरमैलाको समस्यालाई दीर्घकालिन समाधान गर्ने उद्धेश्यले लागिपरेका युवाहरुले विर्तामोड सरसफाई समिति नै गठन गरेका छन् । ल्यान्डफिल साइटको अभाव भएपनि त्यसलाई विस्तारै व्यवस्थापन गरी हाल विर्तामोडमा देखिएको फोहोरको समस्यालाई हदैसम्म समाधान गर्न सकिने युवाहरुको बुझाई छ ।
विर्तामोडको फोहोरमैला व्यवस्थापन गरी हरित नगरको रुपमा विकास गर्न अब निम्न उपायहरु अवलम्बन गर्नुपर्ने देखिन्छ :
१. फोहोर वर्गीकरण केन्द्रको खोजी गर्ने
उत्सर्जित फोहोरमध्ये ६० प्रतिशत फोहोरलाई कुहाउन सकिन्छ भने २० प्रतिशत फोहोरलाई पुनःचक्रण र पुनः प्रयोग गर्न सकिन्छ बाँकी २० प्रतिशत फोहोरमात्र ल्यान्डफिल साइट लैजाने हो त्यो कुल फोहोरको तुलनामा न्यून हुन्छ त्यसैले विर्तामोड क्षेत्रभित्र लिजमा लिएर या त खरिद गरेर नै एउटा सेग्रिगेसन सेन्टर बनाउन जरुरी छ । अहिले पनि नगरपालिकाले फोहोर काँही न काँही लगेर फालिरहेको छ तर यदि फोहोरलाई वर्गीकरण गर्ने हो भने त्यो फोहोर कटौति हुन जान्छ र नगरपालिकाले सहजै व्यवस्थापन गर्न सक्ने देखिन्छ ।
२. हरेक घर तथा पसल, उद्योग आदिमा डस्टवीन अनिवार्य
फोहोरलाई स्रोतमै वर्गीकरण गर्न जरुरी छ । यदि त्यस्तो गर्नसके फोहोर व्यवस्थापनलाई मितव्ययी बनाउन सकिन्छ । यसर्थ हरेक घर, पसल, बैंक, होटल, उद्योग आदिमा अनिवार्य रुपमा कम्तीमा २ वटा सड्ने र नसड्ने फोहोर हाल्ने डस्टवीन राख्न आह्वान गर्नुपर्छ ।
३. कम्पोष्ट मल बनाउने :
सेग्रिगेसन सेन्टरमा फोहोरलाई वर्गीकरण गरेपश्चात जुन फोहोरलाई हामी कुहाएर मल बनाउन सक्छौ त्यस्तो फोहोरलाई कम्पोष्ट मल बनाउन जरुरी छ । यदि पहल गरेमा त्यो असम्भव छैन । कृषिथोकको सड्ने फोहोर मासिक रु २५००० मा ठेक्का लागेको उदाहरण पनि हामीसँग छ त्यसैले कम्पोष्ट मल बनाउने व्यवस्था गरिनुपर्दछ ।
४. विजुलीको पोलबाट हरित सन्देश :
विर्तामोड मुख्य चोक भित्रका विजुलीका पोलहरुमा विभिन्न विज्ञापनका सामाग्रीहरु टाँगेको देखिन्छ । पछिल्लो समय सरसफाई समितिले त्यस्ता अनावश्यक विज्ञापन हटाएको पनि छ । तसर्थ अब त्यस्ता विजुलीका पोलहरुमा हरियो कलर गरी विभिन्न वातावरणसम्बन्धी सचेतनामुलक सन्देश लेखिनुपर्छ । यसबाट सौन्दर्य कायम हुनका साथै स्थानीय व्यापारी तथा आगन्तुकलाई जहीँतहीँ फोहोर नफाल्न सांकेतिक दबाव दिन सकिन्छ ।
५. अनुगमन समिति र जरिवाना :
फोहोरलाई व्यवस्थापन गर्नका निम्ति एउटा अनुगमन समितिको गठन गर्नुपर्छ । यहाँ समस्या भनेको फोहोर धेरै भएर भन्दा पनि हेपाहा प्रवृत्तिले होटल, पसल तथा अस्पताल आदिबाट फोहोरहरु बाटो–बाटोमा फाल्नाले हो । त्यसैले त्यस्ता कार्यलाई पुरै निस्तेज गर्नुपर्छ जवसम्म नगरपालिकाको गाडी फोहोर उठाउन आउँदैन आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्ने व्यवस्था गर्नुपर्छ । गलत गतिविधि गर्ने व्यक्ति तथा संस्थालाई अनुगमन समितिको अध्ययन अवलोकन प्रतिवेदनका आधारमा कारवाहीको दायराभित्र ल्याइनुपर्छ ।
६. शहरको सौन्दर्य बढाउने :
अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत विर्तामोडमा रहेको डिभाइडरमा अशोकाका बिरुवाहरु हुर्किएका छन् । त्यसमा विभिन्न प्रजातिका फूलहरु रोपेर हुर्काउने र मिनी पार्कको कन्सेप्टले फुलबारी बनाउँदा सौन्दर्य व्यवस्थान गर्न सकिन्छ । त्यसैगरी उत्तर–दक्षिणका सडकमा एकतर्फी या त दुवै तर्फी वृक्षारोपण गरे अझ सुन्दर र हरियाली शहर बन्ने पक्का छ ।
७. घरघरमै कम्पोष्ट मल र कोैशी खेती :
फोहोरलाई स्रोतमै वर्गीकरण गरी न्यूनिकरण गरे ५० प्रतिशत समस्याको समाधान हुने देखिन्छ । त्यसैले विर्तामोड मुख्य चोक वरिपरिका गृहीणीहरुलाई किचन वेस्टबाट कम्पोष्ट मल बनाउने तालिमको व्यवस्था गरिनुपर्छ र हरेक घरमा मिनी कम्पोष्ट मल विन सहुलियत मुल्यमा उपलब्ध गराइ अग्र्यानिक कौशी खेतीलाई प्रवद्र्धन गर्नुपर्दछ । यसबाट एकातिर तरकारीमा आत्मनिर्भर बनाउन सकिन्छ भने अर्कोतिर सड्ने फोहोरलाई घरमै व्यवस्थापन गर्न सकिन्छ ।
८. विद्यालय सचेतना कार्यक्रम :
प्लाष्टिक तथा फोहोरमैला असरबारे विर्तामोड क्षेत्रका सम्पुर्ण विद्यालयमा सचेतना कार्यक्रम गर्न जरुरी छ । यसबाट हरेक विद्यालयलाई प्लाष्टिकमुक्त र वातावरणमैत्री बनाउन सकिन्छ भने तिनै विद्यार्थीहरु आफ्नो अविभावकहरुलाई सचेत गराउन मद्धत गर्नेछन् ।
९. वातावरणमैत्री झोलाको प्रयोग :
नसड्ने फोहोरमा सबैभन्दा बढी समस्या भनेको प्लाष्टिकजन्य फोहोरको हो । प्लाष्टिक नसड्ने, नगल्ने र जलाउन पनि नहुने हुँदा यसको विकल्पमा कटनबाट बनेको वातावरणमैत्री झोला अनिवार्य प्रयोगमा ल्याउनुपर्छ । बजार जाँदा प्लाष्टिकको झोला पुरै बन्द गर्नुपर्छ । व्यापारीहरुलाई ३० माइक्रोन भन्दा तलको प्लाष्टिक विक्री वितरणमा रोक लगाइनुपर्छ । दाल, चिनी आदि किन्नुपरे कागजको ठुङगा प्रयोग गर्न सकिन्छ । यदि कसैले जानी जानी प्लाष्टिकको झोला प्रयोग गरे जरिवाना गर्नुपर्छ ।
१०. सचेतनामुलक बोर्ड तथा सरसफाई कार्यक्रम :
वातावरण तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना दिनेखालका बोर्डहरु फोहोरको समस्या धेरै भएको स्थानहरुमा आवस्यकता अनुसार राख्नुपर्छ । यसका अलवा फोहोर फँयाक्न मनाही छ, फोहोर नफालौं भन्ने जस्ता बोर्डहरु पनि बनाउन सकिन्छ । अहिले हरेक शनिवार हुँदै गरेको सरसफाई कार्यक्रम अझ वृहत् तरीकाले विर्तामोड क्षेत्रका सबै संघसंस्था, राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यापारी, व्यवसायीहरुको उपस्थितिमा गरिनुपर्छ । सम्भव भएसम्म हप्तामा दुइपटक गर्न सके झनै उपयुक्त हुने देखिन्छ ।
अन्त्यमा, हामीले विर्तामोडको फोहोरमैलाको समस्यालाई यी माथि उल्लेखित उपायहरु अपनायौ भने समाधान गर्न सक्ने देखिन्छ । तर नगरपालिका यस्ता कार्यप्रति ध्यान दिनुभन्दा पनि ल्यान्डफिल साइट छैन भन्दै पन्छिरहेको अवस्था छ । अब नगरपालिका लगायत सम्बन्धित निकायलाई झक्झक्याउने काम युवाको काँधमा आएको छ । आशा छ, अबको केही महिनाभित्र विर्तामोडले मुहार फेर्नेछ र केही वर्षभित्र दीर्घकालिन फोहोर व्यवस्थापन हुनेछ ।
लेख पूर्वाञ्चल दैनिकमा समेत प्रकाशित छ ।
(लेखक विर्तामोड सरसफाई समितिका सह–संयोजक तथा इसिएफ नेपालका अध्यक्ष हुन् ।)