इजरायल । अविरल बर्षाका कारण झापाको कन्काई नदिको बाढीबाट विस्थापित भएका बाढी पीडितहरुले अहिले सम्म पनि कुनै राहत नपाएको पिडितहरुको गुनासो मिडिया मार्फत बाहिर आएपछि सामाजिक सेवाको भावले स्थापना भएको झापाली समाज इजरायलले इजरायलमा सहयोग अभियान चलाइ सहयोग संकलन गर्ने भएको छ |
कन्काइ नदीको कटानका कारण शिवसताक्षी ८ चिल्लागढका १० घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । हरि प्रसाद ढुङगेल, तेज प्रसाद अधिकारी धर्मानन्द रिजाल, डम्बर रिजाल, विष्णु रिजाल, यसैगरी श्री प्रसाद लिम्बु, राजेश लिम्बु, विष्णु अधिकारी, मित्रलाल खरेल, छविलाल पौडेल, याममाया पोख्रेल र तुलसी तिम्सीनाको परिवार पुर्ण रुपमा बिस्थापित भएका हुन ।
हिन्दुहरुको महान पर्व शुभ दिपावलीको पावन अवसर पारेर समाजले अक्टोवर २८, २०१६ शुक्रवार इजरायलको तेलअविव स्थित लेवेन्सकी पार्कमा “झापाका बाढी पिडित सहयोगार्थ देउसी भैलो तथा दिपावली कार्यक्रम २०७३” मनाउदै सहयोग संकलन गर्ने भएको हो |
समाजले सूचना जारी गर्दै इजरायलमा रहेका सम्पुर्ण सामाजिक संघ संस्था, राजनिति संगठन, जातिय तथा धार्मिक संस्था, संचारकर्मी, विध्यार्थी, नागरीक समाज बुद्धिजिवी लगायत नेपाली र नेपाली भाषी दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थिति भइ उक्त अभियानलाई सहयोग गर्न, सामुहिक देउसी भैलो खेल्दै दिपावली पर्व मनाउनको लागि अनुरोध गरेको झापाली समाज इजरायलका अध्यक्ष ललित चन्द्र बजगाईले बताए ।