विर्तामोड । नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्यसमिति झापाको आयोजनामा झापा जिल्लाबाट प्रवेशिका परीक्षा २०७२ मा उत्कृष्ट ४ जना तामाङ विद्यार्थीहरुलाई सम्मान गरिएको ।
कार्यक्रममा सामुदायिक विद्यालयबाट दुईजना र संस्थागत विद्यालयबाट दुईजना छात्रछात्रालाई सम्मान तथा पुरस्कृत गरिएको हो । सम्मानित हुनेहरुमा सामुदायिकतर्फ फुर्वा योञ्जन र चन्द्रा तामाङ छन् भने संस्थागततर्फ अजय तामाङ र आक्क्ष्या तामाङ रहेका छन् ।
नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रीय सदस्य तथा मेची इन्चार्ज ईश्वरी थिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश नंं. १ का सह–सचिव विपिन स्याङ्बो तामाङ र प्रदेश नंं. १ सल्लाहकार प्रेम घिसिङलगायतले मन्तब्य राख्दै घेदुङको अभियानप्रति सराहना व्यक्त गरे ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष उषा पाख्रिनले स्वागत मन्तव्य राखेकी थिइन् भने औचित्यमाथि उपाध्यक्ष निमा गोलेले प्रकाश पारेका थिए । अबको हरेक वर्ष झापा जिल्लाबाट उत्कृष्ट तामाङ विद्यार्थी सम्मान गरिँदै लगिने उद्देश्यले विद्यार्थी घेदुङ झापाको छुट्टै अक्षय कोष निर्माण गर्ने उपाध्यक्ष निमा गोलेले जानकारी दिए । कार्यक्रममा तामाङ जातिको भाषा, धर्म, संस्कार सम्बन्धी प्रशिक्षणात्क मन्तव्यसहित वक्ताले अब तामाङले आफ्नो हक अधिकार सुनिश्चित गर्न राजनीति गर्नुपर्नेमा जोड दिएका थिए ।
विद्यार्थी घेदुङ झापाको अक्षय कोषमा अखिल क्रान्तिकारी झापाले १० हजार रुपैयाँ र अनेरास्ववियु झापाले ११ हजार १११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । एक महिना भित्र जिल्ला तथा नगर घेदुङलगायत अन्य समाजसेवीको सहयोगमा एक लाख रुपैंयाको अक्षयकोष खडा गर्ने विद्यार्थी घेदुङ झापा अध्यक्ष हैकम घिसिले बताए ।
कार्यक्रम नेपाल तामाङ विद्यार्थी घेदुङ झापाका अध्यक्ष हैकम घिसिङको अध्यक्षता तथा सचिव रोशन मोक्तानको सञ्चालनमा सम्पन्न भएको थियो भने झापा जिल्लाका विभिन्न क्याम्पसबाट उल्लेख्यमात्रामा तामाङ विद्यार्थीको उपस्थिति थियो ।