शनिश्चरे । झापाको शनिअर्जुनस्थित अर्जुनधारा धाम छेउमा दुई करोडको लगानीमा द फन वर्ल्डको स्थापना भएको छ । नेपाली चलचित्र क्षेत्रका चर्चीत अभिनेता ‘राते काँइला’ का नामले चिनिने सुनिल थापाले असोज १७ गते फन वल्र्डको उद्घाटन गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

सो फन वर्ल्डको उदघाटनमा नेपाली चर्चित गायकहरुको समेत उपस्थिति रहने छ भने साँस्कृतिक कार्यक्रम समेत हुने समितिले जनाएको छ । सांस्कृति कार्यक्रमका लागि सुगम पोखरेल, शिव परियार, ग्रीस खतिवडा लगायतका गायक गायिका आउने भएका छन् ।
२ बिगाहा १० कठ्ठा जमिनलाई २५ बर्षका लागि लिजमा लिएर फन वर्ल्डको स्थापना गरिएको हो । सो फन वर्ल्डमा ४ जना सदस्य रहेका छन् । शरद जोशी अध्यक्ष रहेको वर्ल्डमा समिर मोदी, राजनारायण साह र सुरेन्द्र गुरागाईं सदस्य रहेका छन् ।

फन वर्ल्ड बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने छ भने प्रवेश शुल्क ५० रुपैया लाग्ने जनाइएको छ । फन वर्ल्डमा ए टिभि बाइक, पेन्ट बल, वाटर जोर्ब, किडस् जोन, सुमो स्वीट, रेन डान्स बङक्युट, रेष्टुरेन्ट एण्ड बार, लोडिङ आदि आकर्षणहरु रहेका छन् । बिभिन्न उमेर समूहका लागि खेलहरु भएको पत्रकार सम्मेलनमा जनाइएको छ ।