काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी बनाएको विश्लेषण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै पार्टीभित्रबाट आलोचित भएका छन् ।
पार्टी केन्द्रीय कार्यालयको बैठकमा सोमबार आफ्नो भारत भ्रमण फलदायी भएको भन्दै निकै फुरुंग र दंग देखिएका प्रधानमन्त्री दाहाललाई उनकै पार्टीका नेताहरूले मंगलबारको बैठकमा जमेर आलोचना गर्ने तयारी गरेका छन् ।
अन्तर्राष्ट्रिय मुद्दाहरूमा भारतसँग गठबन्धन बनाएर अन्य अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याउन खोजेको, संविधान निर्माण गर्ने विषयलाई संयुक्त वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा प्रवेश गराउन खोजेको, नेपालमा निर्माण भएका परियोजनाको संयुक्त निगरानी गरेर भारतीय हस्तक्षेप बढाएकोजस्ता आरोप लगाएर प्रधानमन्त्री दाहालमाथि नेताहरूले खनिने तयारी गरेका हुन् ।
प्रधानमन्त्री दाहालले सोमबार बैठकमा आफ्नो भारत भ्रमणका सफलताका कथा सुनाइसकेपछि अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्मा ‘काम पर्यो’ भन्दै उठेर हिँडेका थिए । प्रधानमन्त्री दाहालले आफ्नो पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
‘प्रधानमन्त्रीको ब्रिफिङ सुनिसकेपछि हामी बोल्न खोज्दै थियौं तर नेताहरू काम परेको भनेर निस्किन थालेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरियो’, भारत भ्रमणका क्रममा भएका सहमतिबाट आक्रोशित एक नेताले भने, ‘प्रधानमन्त्रीले ब्रिफिङ गरेजस्तै अवस्था होइन । यसमा हामी सचेत र सजग हुन आवश्यक छ ।’ एक नेताका अनुसार प्रधानमन्त्री दाहालले सोमबारको बैठकमा चिसिएको भारतसँगको सम्बन्ध सुधारका लागि विश्वासिलो आधार बनेको, भारत भ्रमण आफूले सोचेभन्दा बढी सफल भएको, नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुगेको विश्लेषण सुनाएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले आफूसँगको भेटमा ‘तपाईंजस्तो ठूलो नेता म होइन’ भनेर आफूलाई सम्मान गरेको पनि प्रधानमन्त्री दाहालले बैठकमा सुनाए । ‘भारतीयहरू मलाई नेता मान्दा रहेछन्’, प्रधानमन्त्री दाहालले बैठकमा भनेका थिए । ‘बिग्रिएको सम्बन्ध सुधार्ने मिसनमा सफलता मिल्यो । सबै पक्षीय कुराकानीले सम्बन्ध राम्रो बनाउन भारतीयले पनि पनि कोसिस गर्लान् भन्ने विश्वास पलाएको छ’, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै नेता नारायण शर्माले भने, ‘भारतीय नेताहरूले नेपाललाई अप्ठ्यारोमा पार्न खोजेको बुझिएन ।’