काठमाडौं – राजधानी काठमाडौंसहित सहर बजारमा दसैँको चटारोले छुँदै छ । दसैँलाई लक्षित गर्दै लत्ताकपडादेखि सवारीसाधनसम्म किन्नेको घुइँचो बढ्दो छ । तर, यही देशमा यस्तो पनि ठाउँ छ, जहाँ दसैँमा समेत चामलको भात खान नपाइने भयो भन्ने चिन्ता बढ्दो छ । 
दसैँ नजिक आइसक्दा पनि ढुवानीमा देखिएको असामञ्जस्यका कारण कर्णालीको हुम्लामा चामल पुग्न सकेको छ । हुम्लाको सम्भावित भोकमरीलाई लक्षित गरी सरकारले पाँच महिनाअघि नै चामल वितरण गर्ने निर्णय गरेको थियो । गत ७ वैशाखको मन्त्रिपरिषद् बैठकले गरेको १० हजार क्विन्टल चामल वितरण गर्ने निर्णय अझै कार्यान्वयन भएको छैन ।
सरकारको निर्णयपछि अहिलेसम्म १ सय १७ क्विन्टल चामल मात्र हुम्ला पुगेको छ । करिब डेढ महिनाअघि दुई हजार क्विन्टल चामल पु-याइएको थियो भने हालसालै एक सय १७ क्विन्टल चामल हुम्ला पु-याइएको छ । तर, मागको तुलनामा यो निकै न्यून परिमाण हो ।
ढुवानी समस्याका कारण डेढ महिनाअघि जम्मा दुई हजार क्विन्टल चामल मात्र हुम्ला पुगेपछि ढुवानीमा सहजता ल्याउन नेपाली सेनाका ढुवानीसाधनको प्रयोग गर्ने निर्णय भएको थियो । दश हजार क्विन्टलमध्ये ६ सय क्विन्टल चामल तत्काल ढुवानी गर्न डेढ महिनाअघि नेपाली सेनालाई जिम्मा दिइएको थियो । सेनासँग ठूलो भार क्षमताका एमआई १७ जस्ता ठूला हेलिकोप्टर भएकाले टेन्डर नगरी उसैलाई ढुवानी गर्न दिने सहमति आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयबीच भएको थियो । तर, सो सहमतिपछि पनि जम्मा १ सय १७ क्विन्टल चामल मात्र हुम्लामा झरेको छ ।
‘तत्काल राहतका लागि भनेर सेनाको हेलिकोप्टरबाट ६ सय क्विन्टल चामल हुम्लाको श्रीनगर र सार्केघाडमा लगेर वितरण गर्ने भनिए पनि अहिलेसम्म १ सय १७ क्विन्टल मात्र ल्याइपु-याइएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले नयाँ पत्रिकासँग भने, ‘अघिल्लो वर्षको भोकमरीपछि जनताले श्रमदान गरेका थिए । त्यसबापत बाँड्नुपर्ने चामल पटकपटक ताकेता गर्दा पनि ढुवानी हुन सकेको छैन, वितरण गर्न सकिएको छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।