काठमाडौं। पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने कामदारबाट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पूर्वसचिव कार्कीकी श्रीमती मुना कार्की विहान अचेत अवस्थामा फेला परेकी थिइन् भने प्रहरीले आशंका गरेका भनिएका कामदार विजय चौधरी आफै झुण्डिएको अवस्थामा भेटिएका थिए ।
सानैदेखि कार्कीको घरमा बस्दै आएका चौधरीले पहिला मुनालाई पीर्काले हिर्काएको र पछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले प्राप्त गरेको सिसीटिभि फुटेजमा पनि चौधरीले कार्कीलाई पिटेको र घिसारेर लगेको भेटिएको अनुसन्धानमा संलग्न प्रहरीका एक उच्च अधिकारीले खबरमञ्चलाई बताए ।
अचेत अवस्थामा फेला परेकी कार्कीलाई श्रीमानले सानेपाकै स्टार अस्पतालमा लगेका थिए । त्यस लगत्तै अस्पतालले मृत घोषित गरेको थियो ।
तर प्रहरीले कार्कीको हत्यामा चौधरीकै संलग्नताको आशंका गरेपनि चौधरीको आत्महत्याका बारेमा भने अझै केही पत्ता नलागेको बताएको छ । घट्नाका सम्बन्धमा बिस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।