विर्तामोड । आगामी असोज २ गते झापामा दुर्घटना न्यूनिकरण महाअभियान चलाइने भएको छ । दिनहुँ सवारी दुर्घटनाका घटनामा बृद्धि भएका कारण त्यस्ता घटनालाई न्यूनिकरण गर्न भन्दै झापावासी उक्त महाअभियानमा जुटेका हुन् ।
विहीबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै उक्त महाअभियानको जानकारी दिइएको हो । महाअभियानका संयोजक गोपालकुमार बस्नेतले अब सर्वसाधारण नै दुर्घटना न्यूनिकरणको अभियानमा नजुटे सवारी दुर्घटनाको स्थिति भयावह हुने बताए ।

महाअभियानका सह संयोजक मदनगोपाल सुब्बाले चालकको लापरवाही र कमजोरीका कारण अधिकांश दुर्घटना हुने गरेकाले उक्त महाअभियानमा चालकहरुलाई सचेत गराउने कार्यक्रम पहिलो चरणमा गरिने बताए ।
उक्त महाअभियानहरुले असोज २ गतेलाई दुर्घटनारहित राष्ट्रिय दिवस मनाउनका लागि प्रस्ताव समेत गर्ने जानकारी दिए । महाअभियानका महासचिव एकराज गिरीले असोज २ गते पाँचसय जना सार्वजनिक सवारी साधनका चालकहरुलाई खादा ओडाएर सम्मान गरिने तथा १५ हजार पर्चा वितरण गरिने जानकारी दिए ।
विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष बलराम कार्कीले उक्त महाअभियानमा सबैको साथ आवश्यक हुने बताए ।