काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रभिताका धनी बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
राष्ट्रपति भण्डारीले बालबालिका अझै पनि न्युनतम स्वास्थ्य शिक्षा समेत नपाइरहेको अवस्था रहेको उल्लेख गर्दै बाल बेचबिखन, दुरव्यवहार र अनुशासनका नाममा दण्ड सजाय अन्त्य गर्नुपर्ने बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईलीले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि सरकारको ध्यान केन्द्रित भएको उल्लेखगर्दै उनीहरुको समस्या समाधानमा सरकारले ध्यान दिने बताउनुभयो ।
नेपालको संविधानमा बाल अधिकारलाई मौलिक हकका रुपमा राखेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात भदौ २९, २०४७ सालदेखि प्रत्येक वर्ष बाल दिवस मनाउने गरेको छ ।