काठमाडौं । राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटीले झापामा सञ्चालित विएण्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन नपाएको बारे सरकारसंग जवाफ माग गरेका छन् ।
प्रदेश नं १ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका सांसद शिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पुरा गरेर सबै मापदण्ड पूरा गर्दा पनि सम्बन्धन नदिइएको भन्दै आपत्ति जनाए ।
राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले पूर्वाधार तयार हुँदा पनि सम्बन्धन दिन नसक्नु दुःखद रहेको बताए ।
बी एण्ड सी अस्पतालले कलेज सञ्चालनका लागि सुविधा सम्पन्न भवनहरुको निर्माण गरिसकेको भन्दै सम्बन्धन नदिइएकोमा आपत्ति जनाए ।
उनले भने, ‘मेडिकल कलेजहरुलाई किन सम्बन्धन दिन सकेका छैनौँ। सरकारले कलेज बना भन्छ, कलेज बनाउँछन्, सबै पूर्वाधार तयार हुन्छन् तर ५, ६ वर्षसम्म सम्बन्धन पाएका छैनन्। सम्बन्धन दिने कुरामा सरकार मौन बसेको छ। पूर्वाधार राम्रो छ तर सरकारले वर्षौँसम्म पनि सम्बन्धन दिन सकेको छैन। किन ?’
यसबाहेक मनमोहन मेडिकल कलेजले पनि लामो समयसम्म पनि सम्बन्धन नपाएको भन्दै शिवाकोटीले सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराए ।
‘ठूलो संख्यामा नेपाली विद्यार्थीहरु बंगलादेश, पाकिस्तान तथा चीन लगायतका मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि गइरहेका छन्, तर यहाँ खोल्न लागिएका मेडिकल कलेजहरु सम्बन्धन नपाएर मसानघाट जस्ता भएका छन्,’ उनले भने ।