काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाललाई आसन्न भारत भ्रमणका क्रममा कुनै पनि विवादास्पद सन्धि–सम्झौता नगर्न पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूले सल्लाह दिएका छन् ।

प्रधानमन्त्री दाहालले मंगलबार बिहान पूर्वप्रधानमन्त्रीहरूसँग र दिउँसो संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल गरेका थिए । दुवै छलफलमा उनले भारत भ्रमण क्रममा कुनै नयाँ सम्झौता गर्ने सोच नभएको बताएका छन् ।
दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालका अनुसार दाहालले विगतमा भएका सम्झौता र सन्धि कार्यान्वयनमा आफ्नो जोड हुने पूर्वप्रधानमन्त्रीहरूलाई बताए । बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई सहभागी थिए । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल भने भेटमा सहभागी भएनन् । मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मीलाई पूर्वकार्यकारी प्रमुखकै हैसियतमा निम्ता गरिए पनि उनी अमेरिका भएकाले नआएको सल्लाहकार खनालले बताए ।
एमालेले आइतबारै प्रधानमन्त्रीलाई सुझाव दिइसकेकाले अध्यक्ष केपी ओली बैठकमा गएनन् । मकवानपुर जानुपर्ने भन्दै बालुवाटार नआउने खबर पठाएका ओली त्यसबेला पार्टी सचिव प्रदीप ज्ञवालीको जन्मदिवसमा सरिक भए । पार्टीका तर्फबाट नेता नेपालले नै यसअघि पार्टीले दिएका सुझावहरूलाई नै ख्याल गर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । ‘पार्टीका तर्फबाट पनि लिखित दिइएको छ, राष्ट्रिय हित विपरीतका कुनै पनि काम नहोस् भन्ने हाम्रो धारणा हो,’ पूर्वप्रधानमन्त्री नेपालले भने ।
एमालेले गत आइतबार ६ बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्री दाहाललाई बुझाएको थियो । उक्त पत्रमा केपी ओली नेतृत्वको सरकारले भारतसँग गरेका सम्झौताहरूको कार्यान्वयनमा जोड दिन सुझाइएको थियो । हुलाकी राजमार्गको यथाशीघ्र निर्माणका लागि भारत सरकारको सहयोगबारे स्पष्ट गर्न र यो मार्गको भविष्य अनिश्चित हुने कुनै काम नगर्न पनि एमालेले भनेको थियो । त्यस्तै नेपालसँग सीमा जोडिएका भारतीय इलाकामा अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत निर्माण गरिएका संरचना तथा दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाइने विषय स्पष्ट रूपमा भारतसँग राख्न पनि प्रधानमन्त्री दाहाललाई एमालेले सुझाव दिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।