काठमाडौं । गायिका आस्था राउत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा खटिएकी एक महिला प्रहरी जवानको विवाद अहिले उत्कर्षमा पुगेको छ।
भारतको सिक्किम जाने क्रममा भद्रपुर विमानस्थलबाट सिलिगुडीतर्फ जाँदै गर्दा गायिका राउतले फेसबुक लाइभ गरेर प्रहरीलाई गाली गलेकी थिइन्।
शुक्रबार विभिन्न सञ्चार माध्यममा विमानस्थलमा राउत र ती महिला प्रहरी जवान रमिता श्रेष्ठबीचको विवाद सिसिटिभी फुटेज आएपछि राउत पुनः फेसबुक लाइभमा आइन्।
सिसिटिभी फुटेजमा के देखिन्छ?
राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन् ।
त्यसपछि झोक्किँदै निस्किएकी राउतले पुनः कफी फिर्ता लिएको देखिँदैन । महिला प्रहरीले पनि औंला ठड्याउँदै झोलामा जबरजस्ती कफी राखिदिन खोज्छिन् ।
विवाद भइरहेका वेला अन्य यात्रुले पनि हेरिरहन्छन् । अनुसन्धान समितिले ती यात्रुसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ ।
राउतले विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै बिहीबार भिडियो सन्देश जारी गरेकी थिइन् ।
भिडियोमा उनले प्रहरी संगठनलाई गाली गलौज गर्दै अपशब्द बोलेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले कुनै ओहोदा अथवा सेलिब्रेटी भन्दैमा सुरक्षा जाँचको छुट नहुने बताएका छन् ।
राउतले भने चेकजाँचका क्रममा महिला प्रहरीले आफूलाई तँ भनेपछि आक्रोशित भएको बताएकी छन् । साथै, उनले हातमा कफी भएकाले आफैं चेक गर्नुस् भनेको पनि बताएकी छन् ।
‘तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ’, उनले यसअघि भनेकी छन् । पछि उनले आफूले आवेगमा अनपयुक्त शब्द प्रयोग गरेको भन्दै क्षमा मागेकी थिइन् ।
प्रहरी जवान रमिताले दिइन् उजुरी
प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
विमानस्थलमा गायिका आस्था राउतको चेकजाँच गरेकी उनले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।
उनको उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।
प्रहरी प्रशासनले उनले गल्ती गरेको भए सजाय गर्ने बताएपछि आस्था फेसबुक लाइभमा आएर कुराकानी गरेकी छिन्।
३८ मिनेट लामो भिडियोमा उनले आफूलाई भएको घटना बताउँदै आफूले प्रहरी प्रशासनलाई बोलेको केही शब्दप्रति क्षमाप्रार्थी भएको बताएकी छन्।