काठमाडौं – प्रहरी बन्दोबस्तीका सामान खरिदका क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले सुडान मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेर सुनुवाइ थालेको हो । पूर्ण इजलासले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनमा भएको खर्चको शोधभर्नाको स्थितिबारे विवरण मगाउने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले बताए । ‘प्रहरीले गरेको खर्चको शोधभर्नाको विवरण आएपछि मुद्दाको सुनुवाइ अघि बढ्छ,’ सुवेदीले भने । ‘हेर्दाहेर्दै’ सुरु भएको इजलासबाटै उक्त मुद्दा किनारा लाग्नुपर्ने प्रावधान छ ।
२०६८ फागुन १ गते विशेष अदालतले सुडान भ्रष्टाचार मुद्दाको फैसला गरेको थियो । फैसलामा चित्त नबुझाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी अधिकारीहरू पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । २०६७ जेठ र असारमा चार जनाको पुनरावेदन निवेदन दायर भएकोमा चार वर्षपछि सर्वोच्चमा सुनुवाइ सुरु भएको हो ।
सुडान मिसन र भ्रष्टाचार मुद्दा सुडानमा खटिने प्रहरीको मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदका क्रममा भएको भ्रष्टाचार प्रकरणको छानबिनपछि अख्तियारले कुल २८ करोड ८१ लाख मागदाबी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०६८ साल जेठ २४ गते दायर मुद्दामा तीन प्रहरी पूर्वमहानिरीक्षक सहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्युर्ड रिस्क लिमिटेडका मिचेर राइडर र उनका नेपाल प्रतिनिधि शम्भु भारतीविरुद्ध मुद्दा दायर गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।