काठमाडौं । राजधानीकाे एउटा बैंकको रकम अवैध रुपमा चोरी गर्ने नेपाली गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जनाको गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भई हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय अञ्जन बराल रहेका छन् । त्यस्तै, बागलुङ लगकोट नगरपालिका घर भइ काठमाडौंको बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे घर भएर हाल काठमाडौंको सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।
जनता बैङ्कका खातावाल गोपालमान राजवहाकले आफ्नो खाताबाट पटक–पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइलमा मेसेज आएपछि गत मंसिर ८ गते प्रहरीलाई उजुरी गरेका थिए ।
सूचना प्राप्त गर्न साथ परिसरको विशेष टोलीले सम्बन्धित बैङ्कका उच्च पदाधिकारीसँग छलफल गरेर बैंकको रकम झिक्ने गिरोहलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् ।