भद्रपुर । हुनेखाने त राम्रा सुविधा सम्पनन् अस्पतालमा जालान् उपचारका लागि । तर हुँदाखानेहरुलाई कुनै विरामले च्यापे के होला ? त्यस्को एउटा उदाहरण हुन भद्रपुर-११ झापाका रोममणि राजवंशी ।
मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका राजवंशीलाई विगत चार महिनादेखि कलेजो, मृगौला लगायतका अंगहरुमा गम्भीर रोग लागेको छ ।
भद्रपुर ११ घोडामाराका रोममणि राजवंशीलाई चार महिनाअघि अचानक पेटमा समस्या आयो । अर्काको घरमा मजदुरी गर्दै आएका उनलाई अस्पताल नगइ नहुने अवस्था आयो र झापाको भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालको आकस्मिक वार्डमा भर्ना भए । चेकजाँचपछि आएको रिपोर्टका आधारमा चिकित्सकहरुले उनलाई अन्यत्र सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिए । तर उनी जान सकेका छैनन् ।
मेची अञ्चल अस्पतालका चिकित्सकहरुका अनुसार उनको कलेजो, प्यानक्रियाज तथा मृगौलामा धेरैवटा मासुका डल्ला जस्ता सिस्ट पलाएको र उनलाई रक्त अल्पता समेत भएको छ ।
उनको परिवारमा श्रीमती, एक छोरा र चार छोरी रहेपनि तीन जना छोरीको भने बिवाह भइसकेको छ । केहि समय अघिसम्म परिवारको जग र सहारा बन्ने गरेका उनको सहारा अहिले कोही पनि छैन ।
उनलाई भेट्न भदौ २३ गते खबरमञ्चको टोली मेची अञ्चल अस्पताल पुग्दा मेडिकल वार्डको बेड नम्बर २७ मा उपचार गराइरहेका उनले गहभरी आँशु पार्दै भएको एउटा छोराले पनि उनलाई नहेर्ने गरेको दुखेसो सुनाएका थिए ।
एक चप्परी जग्गा समेत नभएका ६५ बर्षिय रोममणिको टाउकोमा उनी थलिए यताको चार महिनामा ३० हजार रुपैयाँ ऋण लागेको छ ।
रोममणिलाई आफ्नो स्वास्थ्यको चिन्ता एकातिर छ भने टाउकोमा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता अर्कोतिर ।
सुक्दै गएको शरीर, सुन्निएको पेट देखाउँदै अस्पतालको बेडमा सुतेर भक्कानिदै आफ्ना कुरा राख्दै गर्दा वरपर बसेका अन्य विरामी तथा कुरुवाका पनि आँखा रसाएका थिए ।
सरकारी अस्पतालमा विरामी पत्ता लगाउने भरपर्दो उपकरण नभएका कारण रोममणि जस्ता विपन्न सर्वसाधारणले उपचार अभाव खेप्नुपर्ने बाध्यता छ ।
रोममणिको उपचार मेची अञ्चल अस्पतालमा सम्भव नभएपछि हाल उनी घरमै सहयोगी मनहरुको प्रतिक्षा गरिरहेका छन् । उनको उपचारमा सहयोग गर्न र सहयोगीहरुबाट सहयोग संकलन गर्न अहिले राजवंशी विकास समिति झापाका पुकार राजवंशी, संतोष राजवंशी लगायतका युवाहरु लागिपरेका छन् ।
खबरमञ्च अनलाइन मार्फत यो समाचार पढेर बिपन्न रोममणिलाई सहयोग गर्न चाहानु हुनेहरुले पुकार राजवंशीको फोन नं ९८०७९११२६५५ र संतोष राजवंशीको फोन नं ९८१५०५६९८२/९८४२६२६०५४ मा सम्पर्क गर्न सक्नुहुनेछ । सहयोगीहरुको नाम हामी खबरमञ्च अनलाइनबाट प्रकाशित गर्नेछौँ ।