रौतहट । रौतहट जिल्ला अदालतले बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा ज्युँदै जलाएर मारेको आरोप लागेका सांसद मोहम्मद आफ्ताब आलम पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
पाँच दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई सामूहिक व्यक्ति हत्या मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथी छ । नेपाली कांग्रेसतर्फ रौतहटबाट संघीय संसदका रहेका आलम पुपक्र्षका लागि थुनामा गएसंगै स्वतः निलम्बित भएका छन् ।
गाउँबाट हराएका दुई युवाका आफन्तले आलमविरुद्ध किटानी जाहेरी दिएका थिए।
तत्कालिन अवस्थामा घटनालगत्तै जिल्ला सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै फाइल बन्द गरेको थियो । सात वर्षअघि पीडितका आफन्तले सर्वोच्च अदालतमा रिट दर्ता दायर गरेपछि पुन अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले घट्नाको पुन अनुसन्धान गर्दै आलमलाई पक्राउ गरेको थियो। आलमसहित ११ जनालाई प्रतिवादी बनाउन रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो।
जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले उक्त आदेश गरेको हो। यस प्रकरणमा १० जना फरार छन्।