
काठमाडौं, भदौ १९ । नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध फुकुवा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसीसीले क्यानमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने जनाउ दिएको हो ।
आइसीसीका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि क्यानमाथिको प्रतिबन्ध हटाउन सहमति जनाएका हुन्।
प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेट खेलको ठूलो क्रेज रहेको र सरकारले लगानी पनि गरेको भन्दै क्रिकेट खेलको विकासका लागि क्यानको सट्टामा बोर्ड गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडसनको नेतृत्वको आइसीसीको टोली क्यानमाथिको प्रतिबन्ध हटाउन सहमत भएको हो। यद्यपि, प्रतिबन्ध फुकुवापछि क्यान भने अस्तित्वमा रहने छैन।
आइसीसीले सरकारी हस्तक्षेप र क्यानभित्रको विवाद्लाई कारण देखाउँदै गत वैशाखको पहिलो साता क्यानलाई निलम्बन गरेको थियो। निलम्बनसँगै आइसीसीले क्यानलाई दिंदै आएको अनुदान समेत रोकेको थियो। प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि आइसीसीका प्रतिनिधिले रोकिएको अनुदान दिने प्रतिबद्धता पनि जनाएका छन्।
प्रधानमन्त्री दाहाल र आइसीसीका प्रतिनिधिको भेटवार्तामा सहभागी राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले अब नेपाली क्रिकेटमा कुनै विवाद् नरहेको भन्दै आइसीसीका प्रतिनिधिसामू गरेको
प्रतिबद्धता अनुसार क्रिकेट खेलका गतिविधि संचालन गर्न नर्मलाइज कमिटी गठन गरिने बताए । उनले बोर्ड गठन नहुञ्जेलसम्मका लागि कमिटीले काम गर्ने र क्यान अस्तित्वमा नरहने बताए।