काठमाण्डौ । नेकपा (एमाले)ले संविधान संशोधन नेपालको आन्तरिक विषय भए पनि विदेशी भूमिमा गएर त्यस विषयमा छलफल गरिनु आपत्तिजनक भएको निष्कर्ष निकालेको छ।
‘आन्तरिक विषयलाई बाहिर लैजानु अवाञ्छित बाह्य चासो निम्त्याउने त्रुटिपूर्ण काम हो’, पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोख्रेलले भने, आजको गोरखापत्रमा खबर छापिएको छ।
नेपालीले आफैँ केही गर्न सक्दैनन् भन्नेतर्फ सरकारको गतिविधि उन्मुख भएको आरोप एमालेले लगाएको छ। ‘संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो, यहाँका राजनीतिक दलहरूले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ’ भन्दै नेता पोख्रेलले सरकारले ल्याउने आगामी संशोधनको प्रस्तावलाई हेरेर पार्टीको तर्फबाट सहयोग गर्ने नगर्ने निर्णय लिने बताए।
सरकारले पूर्णता नपाउँदै, परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पँदै कूटनीतिक अभ्यासमा गलत अर्थ लाग्ने गरी प्रधानमन्त्रीले आफ्ना दुईजना विशेष दूतलाई दुई छिमेकी मुलुकमा खटाउनु पनि त्रुटिपूर्ण रहेको एमाले नेतृत्वको भनाइ छ।
विशेष दूतमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पठाइएको पत्र सार्वजनिक गर्न एमालेले माग गरेको छ। ‘वर्तमान सरकार अनेक बहानामा निर्वाचन नगर्ने दिशातिर कदम चालिरहेको छ, मङ्सिरमा स्थानीय निर्वाचन गर्ने कार्ययोजनाविपरीत चैतमा गर्ने भन्दैछ तर निर्वाचन गर्ने नियत देखिँदैन’, बैठकको निर्णय सार्वजनिक गर्दै एमाले नेताहरूले बताए ।
वर्तमान सरकारले विगतमा सहमतिका आधारमा तय भएका नीतिहरू बदल्ने, निर्णयहरू उल्टाउने र नियुक्तिहरू बदर गर्ने गैरकानुनी काम गरिरहेको आरोप लगाउँदै राजनीतिक पूर्वाग्रहका आधारमा त्यस्ता निर्णय नगर्न एमालेले सरकारलाई सचेत गराएको छ।
‘संविधान गतिशील दस्तावेज हो, वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव कस्तो ल्याउँछ, त्यो हेरेर एमालेले सहयोग गर्ने नगर्ने निर्णय गर्छ’, उनले भने। एमालेको पुनः माओवादीसँग गठबन्धन हुनसक्छ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘राजनीतिमा गठबन्धन सधैँ एकैसँग रहन्छ भन्ने होइन, मुद्दा मिल्दा र नमिल्दा गठबन्धन परिवर्तन हुन्छ।’
संविधानले व्यवस्था गरेको अधिकारको अभ्यास गर्न सक्ने गरी उपयुक्त सङ्ख्यामा स्थानीय तह निर्धारण गर्न पनि एमालेले आयोगलाई सुझाएको छ । स्थानीय तहको सङ्ख्या आयोगको प्रस्तावअनुसार नै ५६५ लाई एमालेले समर्थन गर्छ कि कम बेसी सिफारिस गर्छ भन्ने पत्रकारको अर्को जिज्ञासामा महासचिव पोखरेलले त्यस विषयमा पार्टीले उपयुक्त सङ्ख्याबारे निर्णय गर्ने बताए।
प्रचार विभाग प्रमुख तथा पार्टी सचिव योगेश भट्टराईले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, अखण्डताको पक्षमा पार्टीले दृढतापूर्वक खबरदारी गर्ने बताए। त्यस विषयमा एमालेले कहिल्यै नचुक्ने नझुक्ने नीति लिने बताए।