विर्तामोड । देशभरका अधिकांश चिया मजदुरहरु श्रम ऐनमा तोके अनुसारको पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको शनिवार २८ दिन पुगिसक्दा पनि मजदुरहरु अझै आन्दोलित छन् ।
सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने चिया मजदुरहरुको माग छ । श्रम ऐनले चिया मजदुरको दैनिक ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ । तर उनीहरुले २ सय ७८ रुपैयाँ पाउँदै आएका छन् । श्रम ऐनमा तोकेको ज्याला गत साउन महिनादेखि पाउनुपर्ने भएता पनि अझै नपाएको गुनासो पोख्छन् चिया मजदुरहरु ।
सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै मजदुरहरुले हतियार जुलुस र थाल ठटाएर सडकमा प्रदर्शन समेत गरेका छन् । चिया मजदुरहरु जिल्ला प्रशासन कार्यालय झापामा धर्ना पनि बसे । तरपनि चिया मजदुरको समस्या जहाँको त्यहीँ छ ।

चिया उद्योगीका तर्फबाट कुनै सकारात्मक कुरा नआएको मजदुरहरु बताउँछन् । मजदुरले आइतबार विर्तामोडको मुक्ति चोकमा उद्योगीको पुत्ला जलाउने कार्यक्रम तय गरेको चिया मजदुरका एकजना नेता सीता सापकोटाले बताइन् ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलका अनुसार चिया मजदुरहरुलाई दिनै नसक्नेगरि सरकारले ज्याला तोकेकाले आफुहरु मारमा परेको बताए । ‘हामी सरकारले श्रम ऐनमा तेकेअनुसारको ज्याला दिन सक्दैनौं ।’
उनले भने, ‘सरकारले हामी उद्योगीलाई नहेरी मजदुरलाई मात्र प्राथमिकता दिएर कानुन बनाएको छ त्यसैले हामी तोकेको ज्याला दिन सक्दैनौं ।’
कामदारले काम थालेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्था नयाँ श्रम ऐनले गरेको छ ।
पटक–पटक आन्दोलनमा उत्रिदा समेत चिया मजदुरको समस्या समाधान हुन नसक्दा चिया क्षेत्र नै धरासायी बन्ने अवस्था सिर्जना भएको छ ।