विर्तामोड । झापाको विर्तामोडमा आयोजित विर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको शुक्रबार भव्य उद्घाटन गरिएको छ।
प्रदेश नं १ का मुख्यमन्त्री राईले पानसमा द्विप प्रज्जवलन तथा शान्तिका प्रतिक परेवा उडाएर महोत्सव उद्घाटन गरे।

सोही बेला हेलिकप्टरबाट पूष्प बृष्टि गरिएको थियो। उक्त महोत्सव माघ २३ गतेसम्म चल्नेछ।
महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए। महोत्सव उद्घाटनमा विभिन्न जातिका झाँकी प्रस्तुत गरिएको थियो।
महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले देश विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए। निजी क्षेत्रसंग सहकार्य नगरी विकास संभव नभएको उनले बताए।
उनले प्रदेश नं १ को विकासका लागि ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे।

प्रदेश नं १ संग जोडिएका भारत, भुटान तथा बंगलादेशसंग सिधा व्यापारको संभावना रहेको भन्दै ती देशहरुसंग सहकार्य गर्ने प्रदेश सरकारको चाहना रहेको उनले बताए। उनले भने, ‘हामीले हाम्रो प्रदेशलाई सबै हिसाबले आत्मनिर्भर बनाउनु छ।’