काठमाडौँ, १ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ ।
विश्वविद्यालयद्वारा मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाले नेपालमा हाइड्रोपावरको प्रचुर सम्भावना रहेको भएपनि सो विषयमा अहिलेसम्म अध्ययन हुन नसकेकाले प्राविधिक जनशक्तिको अभाव रहेकाले पढाइ सुरु गर्न लागिएको जानकारी दिए ।
विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ । स्नातक तहमा ४८ जनालाई अध्ययन गराउने व्यवस्था गरिएको छ ।
इन्जिनियरिङ सङ्कायका डिन अनन्तराज घिमिरेले चालु आवबाट हाइड्रोपावर इन्जिनियरिङको पढाइ सुरु गरिएको भएपनि आगामी दिनमा त्यस विषयमा स्नातकोत्तरको समेत अध्यापन गराइने बताए । विज्ञ रामचन्द्र अर्यालले त्यस विषयको अध्ययनले प्राविधिक क्षेत्रमा सबल र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विसं २०६७ मा स्थापना भएको विश्वविद्यालयबाट मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षा र इन्जिनियरिङको पढाइ भने हुँदै आएको छ ।