विर्तामोड । देशभर खाना पकाउने ग्यासको अभाव हुने गरेका बेला झापाका पाँच सय भन्दा बढी घर परिवारले घरमै ग्यास उत्पादन गरेर चुलो बालिरहेका छन् । उनीहरुलाई बजारमा ग्यास अभाव होस नहोस कुनै परवाह छैन । मानिसको मलमूत्रबाट उत्पादित उक्त ग्यासको प्लान्ट लगाउन अत्यन्तै सस्तो समेत हुने विज्ञहरुको भनाई छ ।
विर्तामोडका प्रकाशचन्द्र पकुवालले विगत दस बर्षदेखि आफ्नै घरमा दिसा पिसाबबाट खाना पकाउने ग्यास उत्पादन गरिरहेका छन् । कोही बेला बजारमा खाना पकाउने ग्यासको हाहाकार हुन्छ । तर उनको घरमा आफ्नै घरमा उत्पादित ग्यासले चुलो बालिरहेको छ ।
हरेक कुराले किफायती भएपछि विर्तामोड तथा आसपासका क्षेत्रका सार्वजनिक भवन, विद्यालय, कलेज तथा घरहरु गरी पाँच सय भन्दा बढी स्थानमा मानव मलमूत्रबाट खाना पकाउने ग्यास उत्पादनको प्लान्ट लगाइएको छ । सोही प्रकारको प्लान्टबाट जाडो मौसममा ग्यास उत्पादन कम हुने गरेका कारण दोस्रो विकल्पका रुपमा मात्र उनीहरुले सिलिन्डर ग्यास प्रयोग गर्ने गरेका छन् । घरमा उत्पादित ग्यासका अर्का प्रयोगकर्ता मेघराज कार्कीका अनुसार उक्त ग्यास प्लान्टले गज्जबले काम गरिरहेको छ ।
परिवारका सदस्य अथवा उक्त ग्यास प्लान्ट बनाइने भवनमा दिसा पिसाब गर्ने मानिसहरुको संख्याका आधारमा सानो वा ठूलो किसिमको प्लान्ट लगाउन सकिने विगत २० बर्षदेखि उक्त प्लान्ट बनाउने काममा जुटेका विर्तामोडका चैतन्यप्रकाश मैनाली बताउँछन् ।
घर बनाउँदा साधारण तरिकाबाट दिसा पिसाब सञ्चित गर्ने टेंकी बनाउँदा जति खर्च लाग्छ त्यो भन्दा आधा खर्चमा यो प्लान्ट बनाउन सकिने भएकाले व्यक्ति लगायत देशलाई समेत फाइदा हुने विज्ञहरु बताउँछन् । उनीहरु भन्छन् ९८ प्रतिशत मानव मलमूत्र खाना पकाउन प्रयोग हुने मिथेन ग्यासमा परिणत हुन्छ । जस्का कारण चाँडो भरिने संभावना रहँदैन ।
सिलिण्डर ग्यास अभावको अवस्था चुलीमा पुगेका बेला बेलैमा सोचेर यस्तो किसिमको घरैमा उत्पादन हुने ग्यास प्लान्ट लगाउने पहल कदमी देशभर हुनुपर्नेमा विज्ञहरुको जोड छ । उनीहरु भन्छन् सिलिन्डर ग्यास खपत हुने मानिसको संख्या ज्यादा हुने शहरी क्षेत्रमा त यो प्लान्ट बरदान नै सावित हुन्छ ।