इलाम । डा. केसीले सरकारसँग छ बुँदे माग राखेर १६ औं सत्याग्रह शुरु गरेका छन्। इलाम नगरपालिका वडा नं ७ फूलगाछीस्थित एउटा निजी घरमा उनले बुधबार ४. ३० बजेबाट १६औं सत्याग्रह शुरु गरेका हुन्। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पुरानो कार्यालय रहेको व्यक्तिको निजी घरमा केसीले आफ्ना केही समर्थकको उपस्थितिमा अनशन सुरु गरेका हुन्।
उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लगायतका ब्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरिनु पर्ने अर्को माग राखेका छन्।
चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकार फिर्ता गरिनुपर्ने र कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्रिपरिषद्को निर्णय बाबजुद चोरबाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीलाई कारबाही गरिनुपर्ने उनको माग छ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अगाडि बढाइनुपर्ने, इलाम, उदयपुर र डोटी वा डडेल्धुरामा अस्पतालसहितको मेडिकल कलेज खोल्नुपर्ने उनको माग छ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरिनुपर्ने, सशस्त्र द्वन्द्वका अपराधीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार दण्डित गरिनुपर्ने र सरकारको निर्णयविपरित काठमाण्डौ विश्वविद्यालयले तोकेको शुल्क फिर्ता लिइ दोषीलाई कारबाही गरिनुपर्ने माग उनले राखेका छन्।
उनले साम्यवादी पार्टीको दुईतिहाइ बहुमतको सुरकार सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पुर्याउने काम छाडेर मुठ्ठीभर माफियाहरुको स्वार्थ अनुसार कानुनै बनाउन अहिले लागिपरेको उल्लेख गरेका छन्।