काठमाण्डौ । ७३ वर्षीया गंगामाया याक्खा बिहीबार बिहान ९ बजे हातमा पुर्जा लिएर कोसी अञ्चल अस्पताल ओपीडी कक्षको भुइँमा बसिरहेकी भेटिइन् । चिकित्सकको पर्खाइमा उनका साथ थिए पति ७२ वर्षीय भवानीप्रसाद र बुहारी पुष्पा । उनीसँगै उपचारका लागि धनकुटा खुवाफोक–७ बाटै आएकी थिइन् सुशीला याक्खा र उनकी बुहारी सुमित्रा।
उभिँदा–उभिँदा जीउ दुख्यो । बिरामीको घुइँचोले बस्ने ठाउँ नभेटेपछि भुइँमै बसे उनीहरू । गत माघमा माइती गाउँ धनकुटाको बोजे जाने क्रममा बाटामा चिप्लिएर लडेपछि गंगामायाको देब्रे खुट्टामा असर परेछ । भाइ लक्ष्मीले गाउँकै अहेवबाट ओखतीमूलो गराए । तर दुख्न नछाडेपछि बुधबार बिहान ७ बजे बस चढी पथरी कान्छा छोरा विमलको घरमा आए । त्यहाँ बसेर बिहीबार बिहानै अस्पताल आएका हुन् । यो खबर आजको कान्तिपुरमा छ ।
‘७२ वर्षको उमेरसम्म औषधि खानुपरेको थिएन बाबु,’ उनले गर्वसाथ भनिन्, ‘यतिन्जेलसम्म मैले अस्पताल देखेको थिइनँ । खुट्टा साह्रै दुख्न थालेपछि मात्रै बाध्य भएर यहाँ आएँ ।’ गर्मी पनि उस्तै, मान्छेको घुइँचो झन् धेरै । उनी आत्तिइरहेकी थिइन् । थपिन्, ‘चिसो ठाउँको चिसो पानी । अनि आफ्नै बारीको तरकारी खाएकाले होला बिरामी कहिल्यै परिएन ।’
लाइनमा बसेकी बुहारी सुमित्राले डाक्टर आएको संकेत गर्दै साढे १० बजेतिर हाड जोर्नी विभागबाहिर पुर्याइन् । त्यहाँ डा। शम्भु साहले बिरामी जाँच्न सुरु गरे पनि उनको पालो ६७ नम्बरमा पर्यो । सुमित्रा लाइनमै बसिन् । त्यत्रो मान्छे देखेपछि गंगामायाले अनौठो मान्दै जिज्ञासा राखिन्, ‘यहाँ उभिएका सबै बिरामी नै होलान् है रु’
‘हो’ भन्ने उत्तर पाएपछि थपिन्, ‘उपचार गर्न त चर्को पो रहेछ ।’ हुन पनि अस्पतालका सुरक्षा गार्ड आइतबहादुर लिम्बुलाई लाइन मिलाउन हम्मेहम्मे परिरहेको थियो । आधा घण्टा कुरेपछि पुर्जा हातमा लिएर गंगामाया चिकित्सकको कक्षमा छिरिन् । चिकित्सक साहले के भएको भन्दै सोधखोज गरी खुट्टाको एक्सरे र रगत जाँच गर्न लेखिदिए ।
हाडजोर्नी विभागको भवनबाहिर बस्न लगाएर रगत परीक्षण र एक्सरे जाँचका लागि सुमित्रा शुल्क बुझाउन अर्को भवनतिर लागिन् । पैसा बुझाउन २० मिनेट लाइन बसेर ६ सय रुपैयाँका रसिद लिएपछि उनी झर्किंदै आइपुगिन्, ‘जता पनि कस्तो घुइँचो रु’
रगत परीक्षणका लागि ओपीडी कक्ष भएको भवनको माथिल्लो तल्ला पुग्दा १२ बजेको थियो । त्यहाँ पनि झन्डै आधा घण्टा लाइनमा बसेपछि रगत तान्ने पालो आयो । रगत झिक्दा डराइन् गंगामाया । त्यसपछि एक्सरे कक्षमा गयौं । त्यहाँ पनि आधा घण्टा कुर्नु पर्यो ।
दिउँसो डेढ बजे ल्याब परीक्षणको रिपोर्ट हात पर्यो । पुगियो चिकित्सक शम्भु साहकै कक्षमा । त्यहाँ फेरि उस्तै लाम थियो । दुई बजे चिकित्सकले रिपोर्ट हेरिसकेपछि पाँच प्रकारका औषधि लेखिदिए । औषधि खाएपछि पनि निको नभए फेरि आउन सल्लाह दिए । ‘निको नभए पनि अब त अस्पताल फर्केर आउँदिन,’ बाहिर निस्केपछि गंगामायाले भनिन्, ‘बरु दुखाइ सहन्छु ।’ सुमित्रा औषधि लिन गइन् । जम्मा खर्च भएछ दुई हजार दुई सय रुपैयाँ । ‘धेरै सास्ती भोग्नुपर्यो,’ थकित सुमित्राले खुय्य गर्दै भनिन्, ‘लाइन उस्तै, यो कोठा र त्यो कोठा चाहर्दाचाहर्दै गलियो । त्यसै मान्छे बढी पैसा तिरेर क्लिनिक जाँदा रहेनछन् नि ।’
गंगामाया र सुमित्राले दुई दिनदेखि अस्पताल धाइरहेका मोरङ रंगेली ५ का ७४ वर्षीय विलरुवा मल्लिक कन्सल्टेन्ट फिजिसियन दीपक सिग्देलको कक्ष अगाडि लाइनमा कुरिरहेका देखे । छाती दुखेर दुई दिनदेखि उनी डाक्टरलाई देखाउन आइरहेका थिए । पहिलो दिन एक्सरे गराउने रेडियोग्राफर ढिलो आइपुग्यो । रिपोर्ट नपाएकाले दोस्रो दिन फेरि आउनुपर्यो । साढे एघार बजे चिकित्सक दीपक सिग्देल आएपछि बल्ल जाँच सुरु भयो । विलरुवा मात्रै होइन, १० बजेदेखि लाइनमा बसेकी विराटनगर तिनटोलियाकी नीलु भट्ट १२ बजेसम्म अनिश्चित रूपमा चिकित्सक कुरिरहेको छन् ।