काठमाण्डौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार राति कुरा गर्दै पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे। उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए। कान्तिपुर दैनिकमा समाचार छ।
‘प्रचण्डजी हामीलाई सरकारमा लिन तयारै हुनुहुन्छ, उहाँको तर्फबाट कतै अप्ठ्यारो छैन,’ ती नेताले भने, ‘तर शेरबहादुर दाइले मानिराख्नुभएको छैन। किन अप्ठ्यारो मान्नुभएको हो, थाहा हुन सकेको छैन।’ यसबीचमा गच्छदारले देउवालाई मनाउने कोसिस गरे पनि उनले चासो नदेखाएको फोरम लोकतान्त्रिकका अर्का नेताले बताए।
ती नेताले प्रधानमन्त्री दाहालका निकटस्थबाट देउवासँग कुराकानी गर्न गच्छदारलाई सुझाव प्राप्त भएको समेत खुलाए। बिहीबारको बैठकले सरकारका बारेमा अरू दलसँग छलफल चलाउने जिम्मेवारी अध्यक्ष विजयकुमार गच्छदारलाई दिएको छ।
पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको एक साता नाघिसक्दा दुईपल्ट मन्त्रिपरिषद् विस्तार भइसक्यो। अन्तिम घडीसम्म अघिल्ला प्रधानमन्त्री केपी ओलीलाई सघाउने वचन दिएको फोरम लोकतान्त्रिकले दाहालका पक्षमा भोट हाले पनि सरकारमा जाने प्रयास सफल हुन सकेको छैन। अपवादबाहेक सबै मन्त्रिपरिषदमा सामेल हुने गरेका फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई यसपटक सत्तारोहण सहज भएको छैन।
Facebook Comments Box