सुर्खेत, साउन २७ । धामीझाँक्री र भूतप्रेत अन्धविश्वासका पात्र हुन्। कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीले झन् अन्धविश्वासलाई प्रश्रय दिनै नहुने हो। तर साल्कोट गाविसमा प्रहरीले ‘बोक्सीको दोष निको पार्छु’ भन्दै ठगी गरेर खुलेआम हिँडिरहेकालाई कानुनी दायरामा ल्याउनुको साटो उल्टै प्रशंसापत्रसहित तीन हजार पुरस्कारसमेत दिएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
बोक्सीको दोगा निको पार्ने भन्दै स्थानीबासीबाट रकम असुल्दै हिँड्ने मोरङ बेलबारी–४ का रहिम सफेरासहित तीनजनाको टोलीलाई प्रहरीले पुरस्कृत गरेको हो।
साल्कोट प्रहरी चौकीले साउन १८ मा दिएको सम्मानपत्रमा लेखिएको छ,‘बोक्सीहरुले बिगारेको, छलकपट पारेको, दुःख दिएको आदि रोगको बुटीबाट उपचार गर्न सफल भएको पाइएकाले यस चौकीबाट नगद तीन हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरिएको छ।’
प्रहरीका आधिकारिक लेटरप्याडमा चौकीको नाम र छाप छैन, हस्ताक्षर भने गरिएको छ। प्रहरी सहायक निरीक्षक मानबहादुर आलेले सवैले सम्मानपत्र दिएकाले आफूले पनि दिएको बताए ।