काठमाण्डौ ।
चीनको सरकारी थिंक ट्यांक टोली प्रमुख जी झेईले चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी असोजमा हुने नेपाल भ्रमणको तयारीकै लागि आफूहरू यहाँ आएको बताएका छन्, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
बंगलादेश र भारत भ्रमणपछि नेपाल आएको चिनियाँ टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीलाई छुट्टाछुट्टै भेटेर आगामी असोजमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने जानकारी गराएको हो ।
चीन सरकार मातहतको संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेई नेतृत्वको टोलीले अरू दलका नेतालाई समेत भेट्ने कार्यक्रम छ । सीआईसीआईआर अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक विषयमा अध्ययन गर्ने चीन सरकारको महत्त्वपूर्ण संस्था हो । सोमबार साँझ काठमाडौं आएको चिनियाँ टोली राजनीतिक भेटघाटमा व्यस्त छ ।
‘यहाँहरू (नेपाल सरकार र प्रमुख नेपाली दलहरू) को चाहनाअनुसार यो वर्ष चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा आशंका छैन,’ चिनियाँ टोलीका नेताले प्रधानमन्त्री दाहाललाई भनेको भनाइ स्रोतले उद्धृत गर्यो । ‘नेपाल चीनको उच्च प्राथमिकतामा छ । यो उच्च भ्रमण नेपाल–चीन सम्बन्ध विस्तारका लागि धेरै महत्त्वपूर्ण छ,’ जीले भनेका थिए, ‘हामी त्यसैको तयारीका लागि काठमाडौं आएका हौं । नेपाल र चीनले यो उच्च भ्रमण सफल पार्न आवश्यक छ ।’
प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले आफ्नो सरकार र नेपाली दलहरू चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताए । भारतको पर्यटकीय सहर गोवामा आगामी असोज २८ र २९ मा हुने ब्रिक्स (ब्राजिल, रुस, चीन, भारत र दक्षिण अफ्रिका) को आठौं सम्मेलनमा सहभागी हुन जाने अवसर पारेर चिनियाँ राष्ट्रपति नेपाल आउन लागेका हुन् ।