काठमाण्डौ । प्रमुख दलका सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने हल्ला फिँजाएर संवैधानिक निकायलाई कमजोर बनाउने षड्यन्त्र भएको बताएका छन्।
रिपोर्टर्स क्लबले आइतबार गरेको कार्यक्रममा पूर्वमन्त्री तथा एमाले सांसद डा. वंशीधर मिश्रले निहित स्वार्थ बोकेका संगठित व्यक्तिहरूले अख्तियारका प्रमुख आयुक्तमाथि महाअभियोग लगाउनुपर्छ भनेर अफवाह फैलाएको दाबी गरे । मिश्रले महाअभियोग लगाउने भनेर अतिरञ्जित पार्ने काम भएको भन्दै त्यस्तो हुन नसक्ने ठोकुवा गरे । उनले पनि संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको औचित्य समाप्त भइसकेको दाबी गरे ।
माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले कार्कीलाई महाअभियोग लगाइने भनेर अफवाह फैलाइएको बताए । ‘अख्तियार प्रमुखमाथि महाअभियोग लगाउने भनेर सस्तो प्रचारबाजी गरिएको छ, कानुनी, राजनीतिक र संवैधानिक रूपमा कुनै आवश्यकता नै छैन,’ उनले भने । अनशन बसेका डा. गोविन्द केसीको जीवनरक्षाका लागि ध्यानाकर्षणपत्रको रूपमा संसद्मा दर्ता भएको उल्लेख गर्दै अनशन तोडिएसँगै प्रस्तावको औचित्य सकिएको उनले बताएको खबर आजको नयाँ पत्रिकामा प्रकाशित छ।