वीरगन्ज । वीरगन्जको छपकैयामा रहेको कृष्णा हस्पिटलमा स्वास्थ्यकर्मीको लापरवाहीका कारण एक सुत्केरी महिलाको ज्यान नै जोखिमममा परेको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ कृष्णा हस्पिटलमा भर्ना भइ उपचार गराइरहेकी बारा कलैया ६ की खुश्बु देवीको शरिरमा नर्सले ए पोजेटिभको सट्टा बि पोजेटिभ समुहको रगत चढाएपछि उनको ज्यान जोखिममा परेको हो।
गत शुक्रबार भर्ना भइ त्यही दिन बच्चा जन्माएकी खुश्बुको शरिरबाट अत्याधिक रक्तश्राव भएपछि डाक्टर मन्जुलता अग्रवालले रगत चढाउन सिफारिस गरेकी थिइन् । डाक्टर अग्रवालको सिफारिसमा खुश्बुका श्रीमान् राजेश साहले छपकैयामै रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त सन्चार केन्द्रबाट रगतको पोका ल्याएर अस्पतालकी नर्सलाई जिम्मा लगाएका थिए।
डाक्टर अग्रवालले खुश्बुको रगत समुह ए पोजेटिभ भएकाले त्यही समुहको रगत लिएर आउन खुश्बुका श्रीमान राजेशलाइ भनेका थिए। डाक्टर अग्रवालले दिएको रगत समुहको पुर्जी लिएर गएका खुश्बुका श्रीमान राजेशलाइ रक्त सन्चार केन्द्र वीरगन्जका कर्मचारीले भने बी पोजेटिभ समुहको रगत दिएर पठाएका थिए।
रक्त सन्चार केन्द्रका कर्मचारीले गल्तिले पठाएको बि पोजेटिभ समुहको रगत अस्पतालकी नर्सले शनिवार राति साढे आठ बजे तिर हेर्दै नहेरी खुश्बुको शरिरमा चढाइदिएको खुश्बुका श्रीमान् राजेशले बताए।
नर्सले रगत चढाउन शुरु गरे लगत्तै खुश्बुको स्वास्थ्य अवस्था झन बिग्रिएपछि नर्सलाइ खबर गरेका थिए । त्यसपछि नर्सले तत्काल रगत चढाउन बन्द गरेकी थिइन् ।
ए पोजेटिभ समुह सट्टा नर्सले बि पोजेटिभ ग्रुपको रगत चढाए लगतै खुश्बुको शरिर दुख्नुका साथै सुनिन थाल्यो , खुश्बुका श्रीमान्ले भने ,‘ तत्कालै मैले खबर गरेपछि नर्सले रगत चढाउन बन्द गरिन्
गलत समुहको रगत चढेपछि खुश्बुलाई ज्वरो आउनुका साथै स्वास्थ्य अवस्था विग्रीदै गएको राजेशले बताए ।खुश्बुको उपचारमा संलग्न कृष्णा अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर मन्जुलता अग्रवालले पनि डिउटीमा खटिएका स्टाफ नर्सको गल्तीले खुश्बुको शरिरमा गलत रगत चढेको स्वीकार गरिन् ।
उनले गल्ती गर्ने स्टाफ नर्सलाई अस्पताल प्रशासनले कार्वाही गर्ने र खुश्बुको उपचारमा लग्ने खर्च अस्पतालले व्यवहोर्ने बताइन् । अस्पताल प्रशासनले भने गल्ती गर्ने स्टाफ नर्सको परिचय भने गोप्य राखेको छ ।