काठमाडौं । अनिल पुन ३० वर्षमा टेके । बागलुङका उनी कक्षा १० को परीक्षाका लागि तयारी गरिरहेका बेला मिर्गौला फेल भयो र जीवनको याचना गर्दै डायलासिसका लागि काठमाडौं हानिए । त्यसपछि जन्मथलोमै फर्खिए उनी ।
डायलासिसमा धेरै वर्ष बिताएका उनले दीर्घकालीन समाधान खोज्दै वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरे तर फोक्सोको संक्रमणले तीन वर्षमै उनको प्रत्यारोपण असफल भयो । फेरि डायलासिसकै भरमा उनको जीवन अघि बढ्यो ।
उपचारका लागि १२ वर्षमा उनले करिब ६० लाख रुपैयाँ खर्चेका छन् । घरखेत अर्कैको हातमा परिसकेको छ । सहयोग माग्ने ठाउँ कतै नभएपछि विरक्तिमा छट्पटाइरहेका बेला सरकारले डायलासिस सेवा निःशुल्क गरिदियो । हिजोआज उनको जीवनमा नयाँ उत्साह देखिएको छ ।
वीर अस्पतालमा तीनपटक निःशुल्क डायलासिस गरिसकेका र चौथोपटक डायलासिसका लागि शरीरमा मेसिन जडान गर्नुअघि उनले भने, ‘जीवनप्रतिको आशा मरिसकेको थियो तर डायलासिस निःशुल्क गर्न पाउँदा त्यो आशा फेरि पलाएको छ । कोठाभाडासमेत तिर्न नसक्ने अवस्थामा छु । डायलासिस निःशुल्क गर्ने निर्णयमा सरकार पुगेको दिन खुसीले मेरा आँसु झरेका थिए ।’
गत वैशाख ३० गते एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मिर्गौला फेल भएका बिरामीलाई साताको दुईपटकका दरले आजीवन निःशुल्क डायलासिस सेवा दिने घोषणा गरेको थियो । त्यसको करिब साढे दुई महिनापछि मात्रै अस्पतालहरूले डायलासिस सेवा निःशुल्क गर्न थालेका हुन् । वीर अस्पतालले साउन १२ गतेदेखि सातामा दुईपटकका दरले डायलासिस सेवा निःशुल्क गरेको छ ।
अनिल आफूलाई भाग्यमानी सम्झिन्छन् र भन्छन्, ‘मजस्ता सबै बिरामीलाई लक्षित गर्र्दै सरकारले चालेको यो कदमले जीवन रहेसम्म सकारात्मक आशा र उत्साह दिनेछ । सबैको उपचार गर्दागर्दै पैसा रित्तिएको थियो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।