काठमाण्डाैं । प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल कांग्रेस र माओवादी केन्द्रलाई हम्मे परेको छ। मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएपछि दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको हो।
स्रोतले देउवा र दाहालबीच तत्कालीन केपी ओली सरकारले जाँदाजाँदै गरेका नियुक्ति, सरुवा र बढुवाका निर्णय फिर्ता गर्नेलगायत विषयमा निर्णय गर्नुपर्नेबारे समेत बतायो।
बुधबार प्रधानमन्त्री चुनिएका माओवादी अध्यक्ष दाहालले भोलिपल्ट शपथग्रहण गर्दा आफ्नो दलका तर्फबाट तीन मन्त्रीमात्रै नियुक्त गरे । कांग्रेसले दुई मन्त्रीमात्रै पठायो। जबकि, दुई दलबीचको समझदारीअनुसार कांग्रेसले पहिलो चरणमा चार मन्त्री पठाउने तय भएको थियो। नेता शेखर कोइराला र अर्जुननरसिंह केसी इच्छाएको मन्त्रालय नपाएपछि शपथमा गएनन्।
कोइरालालाई परराष्ट्रबाहेक अरू मन्त्रालय रोज्न सभापति देउवाले आग्रह गरेपछि उनी असन्तुष्ट बनेका थिए । अर्का नेता केसीलाई रक्षा मन्त्रालय दिने निर्णय भएको थियो। उनले जनसम्पर्क भएका मन्त्रालय माग्दै रक्षामा शपथ लिन नमानेको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ।